इटहरी । कोरोना भाइरसको संक्रमकण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन सुनसरीको इटहरी प्रहरीले घरेलु उपकरण बनाएको छ ।
लकडाउन उल्लंघन गर्दै सडकमा निस्कने क्रम बढेपछि तीनलाई पक्राउ गर्दा प्रहरी नै जोखिममा पर्ने भएकोले विशेष उपकरण बनाएको हो ।
अब लकडाउन अटेर गर्दै सडकमा निस्किनेलाई प्रहरीले नछोई पक्राउ गर्न सक्ने भएको छ । लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले म्यान क्याच डिभाइस प्रयोगमा ल्याएको हो ।
नजिक गएर नियन्त्रणमा लिँदा कोरोनाको संक्रमण फैलिनसक्ने भएकाले यो उपकरण प्रयोगमा ल्याइएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताउनुभयो । व्यक्तिलाई पक्राउ गर्दा ३ फिटभन्दा परैबाट समात्न सकिने गरी यो उपकरण प्रयोगमा ल्याइएको हो ।
लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा पनि लिनुपर्ने र शारिरिक दुरी पनि कायम गर्नुपर्ने भएकाले उक्त उपकरण प्रयोगमा ल्याइएको हो । प्रहरीले नै उपकरण बनाएको हो । काम चलाउको लागि यो उपकरण बनाएको डिएसपी भण्डारीको भनाई छ ।
सामान्य रड र आल्मुनियमको प्रयोगबाट प्रहरी आफैले बनाएको उपकरणले जोखिम घटाउनेछ । यसको सहायताले प्रहरीले कसैलाई पनि पक्राउ गरी प्रहरीको गाडीमा चढाउनेछ । यो उपकरण प्रहरीको मोबाइल गाडीमा राखिने र आवश्यकता अनुसार प्रयोग हुनेछ ।
यसअघि प्रहरीले काठमाडौंमा स्वचालित रहेका यस्ता उपकरण प्रयोग गरेर लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिँदै आएको छ ।