भारतको पञ्जाबका एक व्यक्तिको कारण २० वटा गाउँका ४० हजार मानिसलाई क्वारेन्टाइनमा राखिएको छ ।
इटली र जर्मनी घुमेर फकिएका पञ्जाबका ७० वर्षका एक व्यक्तिको मृत्यु कोरोना भाइरसको सङ्क्रमणका कारण भएको पुष्टि भएपछि उनको कारण संक्रमण फैलिएको हुनसक्ने आशंकामा ४० हजारलाई क्वारेन्टाइनमा राखिएको हो ।
सिख समुदायका ती धर्मगुरूले आफ्नै घरमा क्वारेन्टाइनमा बस्न नमानेको र उनको मृत्युपछि गाउँका सबैलाई क्वारेन्टाइनमा राख्नुपरेको बीबीसीले जनाएको छ । बलदेव सिंह नाम भएका ती व्यक्ति ज्यान गुमाउनु केहीअघि मात्र ठूलो भिड जम्मा हुने सिख समुदायको पर्व होला मोहल्लामा सहभागी भएका थिए। ६ दिनसम्म चल्ने उक्त उत्सवमा दैनिक १० हजार जति मानिस सहभागी हुने गर्छन्।
उनको मृत्यु भएको एक सातापछि उनका १९ जना नातेदारमा सङ्क्रमण पुष्टि भएको छ। हालसम्म उनको प्रत्यक्ष सम्पर्कमा आएका ५५० जना मानिसको पहिचान भएको र त्यो सङ्ख्या बढ्दो रहेको बताइएको छ।
अहिले पञ्जाब सरकारले उनी बसेको क्षेत्रका १५ वटा गाउँ सील गरेको छ । यस्तै छिमेकी जिल्लाका अन्य ५ वटा गाउँ पनि सील गरिएका छन्।
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघिसकेको छ। पञ्जाबमा मात्र ३० जना सङ्क्रमित भएको पुष्टि भएको छ।
विज्ञहरू सङ्क्रमितको सङ्ख्या त्योभन्दा निकै बढी हुनसक्ने त्रासमा देखिन्छन्। भारतमा निकै कम परीक्षण दर भएको देश रहेकोले संक्रमितको वास्तविक तथ्यांक आउन बाँकी रहेको बताइएको छ ।
एक अर्ब ३० करोड जनसङ्ख्या भएको भारतमा महामारी भएमा त्यसले विपत्ति निम्त्याउने डर देखिन्छ।
कोरोनाको संक्रमण रोक्न भारतमा भारतमा २१ दिनको निम्ति लकडाउन घोषणा गरिएको छ। तर, मानिसहरू खानेकुरा र औषधी जस्ता अत्यावश्यक सामग्री किन्न बाहिर जान पाउँछन्। (बीबीसीको सहयोगमा)