सुकुमबासी ऋषिदेव समुदायको ब्यथा

कोरोनाभन्दा पेटकै चिन्ता

सुकुमबासी ऋषिदेव समुदायको ब्यथा

विराटनगर । विराटनगर १२ बखरीका बद्री ऋषिदेव ७ दिनदेखि घरमै छन् । कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउन घोषणा गरेपछि दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने उनी समस्यामा छन् ।

खोर्सानी र नुनसँग गिलो भातको डल्ला चोप्दै निलिरहेका बद्रीलाई ‘लक डाउन’ लम्बिएमा कसरी हातमुख जोड्ने भन्ने चिन्ता छ । ‘अहिलेसम्म त पसलबाट उधारो ल्याएर भातमात्रै खान पाइरहेको छु,’ उनले भने, ‘अझै काम गर्न नपाए भोकै बस्नुको विकल्प छैन, पसलले पनि कहिलेसम्म उधारो देला ? ।’

काठ मिस्त्रीको काम गरेर ५ जनाको परिवार पाल्दै आएका चन्दन ऋषिदेवको पीडा पनि उस्तै छ । ‘लकडाउनपछि काम बन्द भयो, घरमा बचेको खाद्यान्नले अब १/२ दिन धान्ला,’ उनले भने, ‘त्यसपछि के गर्ने कुनै ठेगान छैन ।’ बद्री र चन्दन मात्रै होइन बखरीको ऋषिदेव बस्तीका अधिकांशको पीडा उस्तै छ । उनीहरुलाई कोरोना भाइरसको संक्रमणले सताउला कि भन्ने भन्दा पनि दैनिक काम गर्न नपाएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताइरहेको छ ।

ट्याक्टरमा सामान लोड गर्ने सोही ठाउँका कुन्दन ऋषिदेवले पनि बिरामी बाबु–आमा, श्रीमतीसहितको परिवारको जिम्मेवारी कसरी पुरा गर्ने भन्ने चिन्तामा छन् । ‘साहुले दिएको थोरै ऋणले अहिलेसम्म बाँचेका छौं,’ उनले सोधे, ‘हामीले कहिलेदेखि काम गर्न पाउँछौं ?।’ ऋषिदेव बस्तीका सानदेव ऋषिदेव र साजेस ऋषिदेवलाई पनि कोरोनाको भन्दा आफ्नो परिवारको पेट भर्ने नै चिन्ता छ । ‘सरकारले काम नगरी घरमै बस्नु भनेपछि हामी बसेका छौं,’ उनीहरुले भने, ‘घरै बसेपछि के खानु ? कुनै व्यवस्था गरिदिनुप¥यो नि ? ।’

बस्तीका अधिकांश मानिस दैनिक मजदुरीमा जाने गरेकोमा अहिले घरमै छन् । कोरोनाबाट बच्न मास्क लगाउनुपर्छ भन्ने जानकारी पाएका अधिकांशले मास्क लगाएरै बसेका छन् । तर, सबैको चिन्ता ‘लकडाउन’ प्रति नै छ । यो अवस्थामा छिटो अन्त्य होस र काममा जान पाइयोस् भन्ने उनीहरु सबैको एकमत छ ।

ऐलानी जमीनमा झुप्रा बनाएर बसेको बस्तीमा झण्डै १ सय घर परिवार ऋषिदेव छन् । विराटनगर महानगरपालिकाको प्रारम्भीक तथ्याङ्क अनुसार नगरभित्र ६ हजार सुकुमबासी र १० हजार अति विपन्न र गरिब परिवार रहेका छन् ।

सररकारले ‘लकडाउन’ घोषणा गरेपछि ऋषिदेव बस्ती जस्ता मजदुरी गरेर गुजारा चलाउने अधिकांशको दैनिकी कष्टकर बनेको छ । दिनभरी काम गरेर बेलुकाको खाद्यान्न जोहो गर्ने उनीहरुको दैनिकी सहज बनाउन सरकारले तत्काल विशेष व्यवस्था गर्नुपर्ने देखिन्छ ।

आइतबार, १६ चैत, २०७६, दिउँसोको ०३:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर