कुल ४.६५ %, अमेरिकामा १.७८%, इटालीमा १०.८३ %, चीनमा ४.०५ %, स्पेनमा ८.१६ %, जर्मनीमा ०.७५ %, फ्रान्समा ६.१५ %, इरानमा ७.१ % को मृत्यु
विराटनगर । कोरोना भाइरसको कारण आज बिहानसम्म विश्वभरी ६ लाख ६३ हजार ७४० बढि संक्रमित भइसकेका छन् भने ३० हजार ८७९ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या करिब सवा लाख पुगेको छभने २ हजार २ सय ११ जनाले ज्यान गुमाएका छन् ।
चीनको बुहानमा कोरोना फैलिएको अवस्थामा यसको मृत्युदर २ देखि ३ प्रतिशत मात्र रहेको मानिएको थियो । पछिल्लो तथ्यांक अुनसार मृत्युदर बढेर ४.६५ प्रतिशत पुगेको छ । कुल संक्रमितमध्ये अहिलेसम्म १ लाख ४२ हजार १८३ जना निको भएर घर फर्किएको तथ्यांक विश्व स्वास्थ्य संगठनले दिएको छ ।
पछिल्लो विवरण अनुसार विश्वकै सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा कुल संक्रमित संख्या १ लाख २३ हजार ७ सय ५० रहेको छ। जसमध्ये १.७८ प्रतिशत अर्थात २ हजार २ ११ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये अमेरिकामा हालसम्भम ३ हजार २३१ जना मात्र निको भएका छन् ।
अमेरिकापछि दोश्रो नम्बरमा इटालीमा धेरै संक्रमित रहेका छन्। त्यहाँ ९२ हजार ४ सय ७२ जनामा यसको संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी ज्यान गुमाउने मुलुक इटाली बनेको छ । इटालीमा कुल संक्रमितको १०.८३ प्रतिशत अर्थात १० हजार २३ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १२३८४ जना निको भएका छन् ।
संक्रमित संख्याको आधारमा तेश्रो नम्बरमा रहेको चीनमा ८१ हजार ४ सय ३९ जनामा संक्रमित हुँदा ४.०५ प्रतिशत अर्थात ३३ सयले ज्यान गुमाएका छन् । संक्रमणलाई नियन्त्रणमा लगेको चीनमा ७५ हजार ४४८ जना उपचारपछि निको भइसकेका छन् भने हाल २ हजार ६ सय ९१ मात्र संक्रमित रहि उपचारको क्रममा छन् ।
कोरोना भाइरसको उद्गम मुलुक चीनमा पछिल्लो समय भने चीनमा संक्रमित र मृतकको संख्या घटेको छ। त्यहाँ स्थानीयभन्दा पनि बाहिरबाट आएका मानिसहरूमा नयाँ संक्रमण देखिएको छ।
संक्रमणको आधारमा चौथो मुलुक स्पेन हो । स्पेनमा ७३२३५ जनामा संक्रमण हुँदा ५ हजार ९८२ अर्थात ८.१६ प्रतिशतले ज्यान गुमाएका छन् । संक्रमितमध्ये स्पेनमा १२ हजार २ सय ८५ जना उपचारपछि घर फर्किएका छन् ।
पाँचौ संक्रमित मुलुक जर्मनीमा ५७ हजार ६९५ जना संक्रमित हुँदा ४३३ जना अर्थात ०.७५ प्रतिशतले ज्यान गुमाएका छन् । जर्मनीमा ८ हजार ४ सय ८१ जना उपचारपछि घर फर्किएका छन् ।
संक्रमित संख्याको आधारमा छैटो नम्बरमा रहेको फ्रान्समा ३७ हजार ५७७ मध्ये २ हजार ३१४ अर्थात ६.१५ प्रतिशतले ज्यान गुमाएका छन् । फ्रान्सका संक्रमितमध्ये ५ हजार ७ सय उपचारपछि निको भएका छन् ।
कोरोनाबाट प्रभावित इरानमा ३५ हजार ४०८ जना संक्रमित हुँदा २ हजार ५१७ अर्थात ७.१ प्रतिशतले ज्यान गुमाएका छन् । संक्रमितमध्ध्ये इरानका ११ हजार ६७९ जना उपचारपछि घर फर्किएका छन् ।
संक्रमितको संख्याका आधारमा इरानपछि बेलायत, स्वीजरल्याण्ड, नेदरल्याण, दक्षिण कोरिया, बेल्जियम, अस्ट्रिया, टर्की, क्यानडा, पोर्चुगल, नर्वे, ब्राजिल, अस्ट्रेलिया, इजरेल र स्वीडेन पर्दछन्। ती देशमा ३ हजार ५ सयभन्दा धेरै संक्रमित भएका छन् ।
संसारका १९९ मुलुक तथा क्षेत्रमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। कोरोना भाइरसको संक्रमणलाई रोक्न पछिल्लो समय विभिन्न मुलुक लकडाउनमा छन्।