विर्तामोड । कतारबाट आएका एक युवाको परिवारमा ज्वरो र रुघाखोकी देखिएपछि झापाको भद्रपुरका एक परिवारका दुई जनालाई आइसोलेसनमा र पाँच जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
भद्रपुर नगरपालिका ३ साबिक महेशपुर बस्ने एक परिवारका सबै सदस्यमा ज्वरो र रुघाखोकी देखिएपसिछ दुई जनालाई मेची अस्पताल भद्रपुरको आइसोलेसनमा र ५ जनालाई कलवलगुढी स्थित क्वारेन्टाइनमा पठाइएको हो।
मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरका अनुसार उनीहरूलाई शनिवार बिहान अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।कोरोना भाइरस सङ्क्रमणको आशङ्कालाई पुष्टि गर्न दुबै जनाको थ्रोट स्वाब परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउने अस्पतालले जनाएको छ। दुई साताअघि कतारबाट परिवारका एक सदस्य घर फर्किएको बताइएको छ ।
कतारबाट फर्किएका ती व्यक्ति सेल्फ क्वारेन्टाइनमा नबस्दा परिवारका अन्य सदस्यमा ज्वरो र रुघाखोकी देखा परेको आशंका गरिएको छ । कतारबाट फर्किएका व्यक्तिको शारीरिक अवस्था भने सामान्य रहेको जनाइएको छ।