बेलायती प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई कोरोना

शक्तिशाली मुलुकका शक्तिशाली व्यक्ति पनि कोरोनाबाट असुरक्षित

शक्तिशाली मुलुक बेलायतका प्रधानमन्त्री र स्वास्थ्यमन्त्री दुबैजना कोरोना संक्रमित भएका छन् ।

प्रधानमन्त्री बोरिस जोनसनमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएलगत्तै स्वास्थ्यमन्त्री म्याट हानकक पनि कोरोना संक्रमित भएको पुष्टि भएको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुने बोरिस संसारकै पहिलो सरकार प्रमुख हुन्। प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले शुक्रबार यसबारे पुष्टि गर्दै जोनसनमा सामान्य लक्षण देखिएको बताएको छ। उनी सेल्फ आइसोलेसनमा बस्ने र त्यहीबाट सरकार सञ्चालन गर्ने डाउनिङ स्ट्रिटका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

बेलायतका मुख्य चिकित्सा अधिकारी प्रा. क्रिस व्हिटीको सल्लाहपछि प्रधानमन्त्रीको परीक्षण गरिएको थियो । कोरोना संकटसँग जुध्न ब्रिटिस सरकारको प्रयासको अब सेल्फ आइसोलेसनमा बसेर बोरिसले नेतृत्व गर्ने बेलायती सञ्चार माध्यमले जनाएका छन् ।

प्रधानमन्त्रीमा कोरोना देखिएको लगत्तै बेलायतका स्वास्थ्यमन्त्री म्याट हानकक पनि कोरोना भाइरस संक्रमित भएको खुलेको छ । ४१ वर्षीय हानकक संक्रमणपछि सेल्फ आइसोलेसनमा छन् । बेलायतमा जोनसन र हानककले कोभिड–१९ को महामारीविरुद्धको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए ।

बेलायतमा यसअघि युवराज चार्ल्स र उपस्वास्थ्यमन्त्री नदिन डोरिसलाई कोभिड–१९ को संक्रमण देखिइसकेको छ । युवराज चार्ल्स हाल पत्नीसहित स्कटल्यान्डस्थित निवासमा आइसोलेसनमा छन् ।

बेलायतमा हालसम्म ११ हजार ६ सय ५८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भइसकेको छ भने ५ सय ७८ भन्दा बढीले ज्यान गुमाइसकेका छन्

शुक्रबार, १४ चैत, २०७६, रातीको ०९:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर