लकडाउनको अवधि थप हुने

विराटनगर । सरकारले एक साताका लागि लगाएको लकडाउनको अवधि थप गर्ने भएको छ । कुनै पनि मानिसमा कोरोनाको संक्रमण १४ दिनसम्ममा देखिने भएकोले हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्यजाँच रिपोर्ट नआएसम्म लकडाउन थप गरिने भएको हो ।

छिमेकी मुलुक भा्रतले पनि २१ दिने लकडाउन जारी गरेको अवस्थामा अहिले नै लकडाउन खुल्ने अवस्था छैन । दुई जनामा कोरोनाको संक्रमण देखिएपछि सरकारले चैत ११ गतेबाट १८ गतेसम्म लागु हुनेगरी लकडाउन घोषणा गरेको थियो । अब सुरक्षा तथा दैनिक उपभोग्य बस्तुको सहज व्यवस्थापनको वातावरण बनाएर लकडाउनको अबधि थप गर्ने सरकारको तयारी रहेको एक मन्त्रीले जानकारी दिनुभयो ।

भारतीय लकडाउनपछि दुवै देशका सीमाबाट आवतजावत हुन नदिन सुरक्षाकर्मीले पैदल गस्ती गरिरहेका छन्। भारत र तेसो मुलुकबाट नेपाल आएका तथा अस्पतालको आइसोलेसनमा रहेका व्यक्तिको अन्तिम स्वास्थ्यजाँच रिपोर्ट १४ दिनमा मात्र आउने भएकोले त्यो रिपोर्टको विश्लेषणपछि मात्रै लकडाउन फिर्ताबारे सोच्ने तयारी छ ।

सरकारले सीमा नाकामा निगरानी बढाएपछि भारतबाट मात्र ५ लाखभन्दा बढी मानिस नेपाल भित्रिएको बताइएको छ । भारतमा कोरोना फैलिरहेको बेला उनीहरुले संक्रमण लिएर आए नआएको यकिन भइसकेको छैन । यस्तै १० गतेसम्म तेस्रो मुलुकबाट आएका नागरिक पनि नेपालमा कोरोनाको संक्रमण भित्रिएको हुनसक्ने आशंका छ । किनकी अहिलेसम्म भेटिएका ३ जना संक्रमित पनि तेस्रो मुलुकबाट आएकाहरु हुन् ।

उनीहरुबाटै कोरोना भाइरस सर्नसक्ने आशंका गर्दै गृह मन्त्रालयले उनीहरुको निगरानी गर्न तथा अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । अहिले लगाएको लकडाउनको उल्लंघन पनि सीमाक्षेत्रमा धेरै भइरहेकोले थप चुनौति रहेको सरकारको विश्लेषण छ ।

लकडाउन कार्यान्वयन र नागरिकको दैनिक जीवनयापनसँग सम्वन्धित उपभोग्य बस्तुको सहज व्यवस्थापनका लागि यसअघि नै सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेको गृह मन्त्रालयले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले लकडाउन पालना र विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न आफ्ना संयन्त्रलाई देशभर परिचालन गरिएको बताएका छन्।

शुक्रबार, १४ चैत, २०७६, रातीको ०८:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर