लकडाउन उल्लंघन गर्दै साप्ताहिक हटिया

पुच्का बेच्नेहरु पनि हाटबजारमा/सयौंको भीड

पुच्का बेच्नेहरु पनि हाटबजारमा/सयौंको भीड
विराटनगर । कोरोना भाइरसको जोखिम कम गर्न सरकारले लकडाउन घोषणा गरेको भएपनि विराटनगरमा त्यसको लगातार उल्लंघन भइरहेको छ ।

अत्यावश्यक बाहेकका सबै व्यापार व्यवसाय बन्दको घोषणा गरिएको भएपनि त्यसको पालना नहुँदा जोखिम बढिरहेको छ । बिहीबार विराटनगरको चाँदनी चोकमा सधैं झैं हटिया लागेको छ ।

हटियामा सब्जी मात्र नभएर चटपटे र पुच्का बेच्नेहरु पनि निर्बाध बसेका थिए भने सयौंको भिड लगेको थियो । महानगर र प्रदेश सरकारले पनि कडाई गर्न नसक्दा महानगरमा लकडाउनलाई वेवास्ता गर्ने क्रम चलिरहेको छ । मुख्य बजार क्षेत्रमा प्रहरीले कडाई गरेको भएपनि भित्री खण्डमा त्यसो हुन सकेको छैन ।

भित्री सडक र चोकहरुमा चुरोट खान जम्मा हुने युवादेखि क्रिकेट खेल्ने र खुल्ला सडकको सेल्फि खिच्नेहरुको समूह देखिन्छ । विराटनगरको मध्यभाग गुद्री बजारमा भिडभाड नै हुने गरेको छ ।

बुधवार बल प्रयोग गरेर भएपनि घरबाट कसैलाई निस्कन नदिने आदेश आएकोमा कसैलाई बल प्रयोग नगर्ने आदेश आएको भन्दै प्रहरीले पनि कडाइ गरेको छैन । सयौंको भीड रहेको चाँदनी चोकको बिहिबारे हटिया नगरप्रहरीले केही घण्टापछि उठाएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आफू प्रहरीको कारबाहीबाट सन्तुष्ट नभएको प्रतिक्रिया दिँदै सेना लगाएर भए पनि लकडाउनलाई कडा बनाउनुपर्ने बताउनुभएको छ ।

बिहिबार, १३ चैत, २०७६, साँझको ०६:२९ बजे

प्रतिक्रिया

  1. स्थानीय प्रशासनकाे गैरजिम्मेवारी रवैया रहेकाे देखिन्छ ,सरकारले तिनिहरुलाई कार्वाहीकाे दायरामा ल्याउनु पर्याे ।

प्रतिक्रिया:

सम्बन्धित खवर