विराटनगर । कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले गठन गरेको सुरक्षा कोषमा प्रदेशसभाका सभामुख र उपसभामुखले एक महिनाको पारिश्रमिक जम्मा गर्नुभएको छ ।
मंगलबार प्रदेश सरकारले जनसुरक्षा कोष स्थापना गरेपछि सभामुख प्रदिपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेलले एक महिनाको पारिश्रमिक बराबररको रकम कोषमा जम्मा गर्नुभएको प्रदेशसभाका सचिव गोपाल पराजुलीले जानकारी दिनुभएको छ ।
प्रदेशसभामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका ५६ जना र प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेंसका नेता, उपनेतासहित २१ प्रजना प्रदेशसभा सदस्यहरुले १५ दिनको पारिश्रमिक कोषमा जम्मा गर्ने जानकारी प्राप्त भएको सचिव पराजुलीले जानकारी दिनुभयो । सचिव पराजुलीका अनुसार सभामुख र उपसभामुखको पारिश्रमिक वापतको रकम कोषमा बुधबार नै जम्मा भएको र प्रदेशसभा सदस्यहरुको पारिश्रमिक छिट्टै जम्मा हुने जानकारी दिनुभएको छ ।
प्रदेश सरकारले मुख्यमन्त्री, प्रदेश सरकारका ९ जना मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय भएको छ ।
यसैबीच प्रदेशसभामा प्रतिनिधित्व गर्ने समाजवादी पार्टी नेपालका नेता जयराम यादवले सामाजिक सञ्जाल फेसबुक मार्फत कोषमा एक महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गर्नुभएको छ ।