दुई महिनाको लकडाउनपछि तंग्रिदै वुहान

कोरोना भाइरसको उदगम थलो चीनको हुबेई प्रान्तको राजधानी वुहान दुई महिना लामो लकडाउनपछि विस्तारै तंग्रिन थालेको छ ।

वुहानमा नयाँ कोरोना संक्रमित देखिन छाडेको र उपचारको क्रममा रहेकाहरु पनि ठिक हुँदै गएपछि सार्वजनिक गतिबिधि हुन थालेको छ । बुधबारदेखि वुहानमा सार्वजनिक बस चल्न थालेका छन्।

चिनीया समाचार संस्था सिन्ह्वाका अनुसार वुहानका ११७ रूटमा बस सञ्चालनमा आएका हुन्। तर, बस चलाउनका लागि स्वास्थ्य सुरक्षाका लागि हरेक बसमा ड्राइभरसँगै सुरक्षा निरीक्षकसमेत राखिएको छ।

ती निरीक्षकले यात्रुको मोबाइल फोनबाट क्युआर कोड चेक गरी स्वास्थ्य अवस्था हेर्छन्। क्युआर कोड नभएकाहरूले यात्रा गर्न स्वास्थ्य प्रमाणपत्र देखाउनु पर्छ। त्यस्तै चालक तथा निरीक्षकले दैनिक आफ्नो तापक्रम नाप्नु पर्ने, मास्क तथा पञ्जा लगाउन अनिवार्य गरिएको छ।

यात्रुहरूले पनि मास्क अनिवार्य लगाउन पुर्ने र एकअर्कासँग टाढै बस्न पर्ने नियम लागू गरिएको छ । रहस्यमयी भाइरसबाट मानिसहरू धमाधम मर्न थालेपछि चीन सरकारले जनवरी २३ देखि वुहान सहरलाई पूर्ण रूपमा लकडाउन गरेको थियो ।

वुहानबाट फैलिएको कोभिड १९ अहिले विश्वमहामारी बनेको छ। चीनले भने यसलाई नियन्त्रण गर्दै लगेको छ ।

बुधबार, १२ चैत, २०७६, साँझको ०५:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर