विराटनगर । सरकारले लकडाउन घोषणा गरेपछि सहरदेखि गाउँसम्मका नागरिकहरु सचेत देखिएका छन् । यतिबेला सहरमात्र हैन गाउँहरु पनि सुनसान भएका छन् ।
अनावश्यक घुमफिर गर्नबाट रोक्न जनस्तरबाट सरकारको घोषणा कार्यान्वयनमा सहयोग भएको छ । यतिबेला मोरङका गाउँहरु सेल्फ क्वारेन्टाइनमा छन् । अनावश्यक आवतजावतलाई कम गर्न स्थानीयले बाटोमा तगाराहरु लगाएका छन् । कतै बाँसका घारा तेस्र्याएका छन् त कतै ढाट बनाएर हिडडुलमा रोक लगाएको सन्देश दिइरहेका छन् ।
मोरङको कानेपोखरी गाउँपालिका अन्तरगत बयरवनका विभिन्न चोकमा मानिसहरु घरबाट बाहिर निस्किएका छैनन् । सडक खुला राख्दा आवतजावत बढ्ने भएकोल अवरोधका विभिन्न विकल्पहरु प्रयोग गरेको समेत देखिएको छ ।
गाउँगाउमा देखिएको जागरणले कोरोना भाइरस संक्रमणको जोखिमको बारेमा जनता सचेत छन् र उनीहरु संक्रमण फैलिन नदिन सरकारलाई सहयोग गर्न तत्पर रहेछन् भनेर बुझ्न सकिन्छ ।
यता सहरी क्षेत्रमा पनि लकडाउन कार्यान्वयनको अवस्था हिजोको तुलनामा आज बढी प्रभावकारी देखिएको छ । स्थानीय प्रशासनले सडकमा हुने आवतजावत अझ कडा बनाएको छ । अनावश्यक रुपमा प्रयोग गरिएका मोटरसाइकल र सवारीका साधनहरु नियन्त्रणमा लिने क्रम जारी राखेको मोरङ प्रहरीले जानकारी दिएको छ ।