इटलीमा मृत्यु हुने क्रम रोकिएन

पछिल्लो २४ घण्टामा ७४३ को ज्यान गयो

विराटनगर । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण पछिल्लो २४ घण्टामा इटलीमा ७ सय ४३ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट संसारमै सबैभन्दा प्रभावित बनेको इटलीमा योसँगै ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय २० जना पुगेको छ । संक्रमणको संख्यालाई हेर्दा पनि अहिले कोरोना संक्रमणको मुख्य केन्द्र इटली बन्न पुगेको छ । सोमबारको तुलनामा इटलीमा थप १४१ जनाले ज्यान गुमाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी गराएका छन् ।

इटलीमा आइतबार र सोमबार मृत्युको संख्या केही कम देखिएको थियो । तर सिरियस बिरामी र संक्रमितहरुको संख्या बढी रहेको त्यहाँ मंगलबार ज्यान गुमाउनेहरु बढी हुन पुगे । पछिल्लो तथ्यांक र बढ्दो मृत्युलाई हेर्दा इटलीमा कोरोनाको कहर तत्काल रोकिने संकेत नदेखिएको बीबीसीले जनाएको छ ।

कोरोना संक्रमणका कारण इटलीमा शनिबार ७ सय ९३ जनाको ज्यान गएको थियो । आइतबार र सोमबार त्यो संख्या घटेर ६ सय ५१ र ६०२ जनामा झरेको थियो । मंगलबार बढेर ७४३ जना पुगेको हो ।

सबैभन्दा लामो लक डाउन

कोरोनाको संक्रमणका कारण इटली अहिलसम्मकै लामो लकडाउनको अवस्थामा छ । सुरुवाति दिनमा सामान्य रुपले लिने गल्ति गर्दा इटलीको अधिकांश भुभागमा कोरोना संक्रमण फैलिएको छ । त्यसलाई नियन्त्रण गर्न लकडाउनलाई निरन्तरता दिइएको छ । तरपनि स्थिति नियन्त्रणमा आउन सकेको छैन । मृत्यु हुने दर पनि घटिरहेको छैन ।

संक्रमणबाट इटलीको उत्तरी क्षेत्र लोम्बार्डो सबैभन्दा बढी प्रभावित छ । लोम्बार्डी कसरी सबैभन्दा धेरै प्रभावित भयो भन्ने विषयमा विभिन्न अध्ययन भइरहेपनि कारण भने भेटिनसकेको बताइएको छ ।

महामारी विशेषज्ञ पियरलुइजी कोकोले बीबीसीसँग कुरा गर्दै भन्नुभएको छ ‘अहिले नै यसको कारण यही नै हो भनेर ठोकुवा गर्नु हतार हुने छ । धेरै कारणहरु हुन सक्छन् । एउटा अनुवांशिकी कारण हुनसक्छ । कतिपय संक्रमितमा लक्षणसमेत देखिएको छैन । कतिपयलाई संक्रमण देखिएको छैन । इटली विश्वका सबैभन्दा धेरै पाका व्यक्ति भएको देश हो । बढी उमेरका व्यक्ति संक्रमणको चपेटामा छिटो आउँछन् र उनीहरुलाई जोगाउन मुस्किल हुन्छ ।’ कोकोले इटलीको उत्तरी इलाकामा मृत्युको संख्या बढ्नुमा त्यहाँको वायु प्रदुषण पनि हुन सक्ने बताउनुभएको छ ।

इटलीमा कोरोना भाइरसका कारण मृत्युको संख्या बढे पनि संक्रमण दरभने केही दिनदेखि घटिरहेको छ । इटलीका अधिकारीहरुका अनुसार संक्रमण दर एक प्रतिशतले घटेको छ । व्यक्तिगत दुरी बढाउने नियमको कडा पालना गर्दा संक्रमणको दर घटेको बताइएको छ । इटलीमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ६९ हजार १ सय ७६ छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरसको संक्रमण १९५ देशमा फैलिएको छ । यसबाट १६ हजार ३६२ जनाको मृत्यु भइसकेको छ ।

बुधबार, १२ चैत, २०७६, बिहानको ०८:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर