खाद्यवस्तुका पसल निर्वाध संचालन हुन्छ –गृह मन्त्रालय

विराटनगर । गृह मन्त्रालयले खाद्यवस्तु बिक्री गर्ने पसल निर्वाच सञ्चालन हुने स्पष्ट गरेको छ । देश लकडाउनमा रहेको बेला पनि खाद्यवस्तु, औषधि, दूध, खानेपानी जस्ता वस्तुहरुको आपुर्ति व्यवस्था सहज बनाउन त्यस्ता पसल खुला रहने जनाएको छ । मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै विद्युत, दूरसञ्चार, सूचना तथा संचार, भन्सार, फोहोरमैला व्यवस्थापनलगायतका आवश्यक वस्तुहरुको कारोबार गर्ने पसल तथा सेवा बन्द नहुने स्पष्ट पारेको हो ।

कोरोना भाइरस नियन्त्रणको लक्ष्यसहित गरिएको लक डाउनको मंगलबार पहिलो दिन भएकाले आवश्यक बस्तु र सेवा सञ्चालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएको उल्लेख गर्दै भोलिदेखि त्यस्ता वस्तुहरुको कारोबार गर्ने पसलहरु निर्वाधरुपमा सञ्चालन गर्न अनुरोध गरेको छ ।

यस्तै मन्त्रालयले देशका केही स्थानमा कुनै अत्यावश्यक काम नपरी हिँडडूल गर्ने नागरिकलाई सम्झाउने, बुझाउने, जरिवाना गरी छाड्ने र विना पासका सवारीसाधनलाई नियन्त्रणमा लिइ साँझ फिर्ता दिने लगायतका कार्य भएको पनि जनाएको छ ।

यस्तै मन्त्रालयले कुनै जरुरी काम नपरिकन पनि सवारी पास माग गर्ने प्रवृत्ति बढेको गुनासो समेत गरेको छ ।

मन्त्रालयले सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न सहयोग गरेकामा सबै नेपाली नागरिकलाई धन्यवाद दिएको छ ।

मंगलबार बिहान ६ बजेदेखि लागू भएका लकडाउनको घोषणा आगामी चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ ।

मङ्गलबार, ११ चैत, २०७६, रातीको १०:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर