धनकुटा । कोरोना भाइरस कोभिड १९ रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन पालना गराउन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
अत्यावश्यक काम बाहेकमा बाहिरफेर ननिस्किन प्रशासनले निषेधाज्ञा जारी गरेवपछि धनकुटा सुनसान बनेको छ ।
धनकुटाको निक्कै चहलपहल हुने चुवाबोट, मदन चोक, भीमसेनथान, भीमनारायण चोकलगायत विभिन्न बजार मंगलबार विहानैदेखि सुनसान छन् । कोभिड–१९ को सम्भावित जोखिमबाट बच्न सरकारले विद्यालय, क्याम्पस, कार्यालयहरु र सार्वजनिक स्थलहरु बन्द गरेपछि सयौं मानिसहरुले धनकुटा छोडेर गाउँ फर्किसकेका छन् । घर बजारमा बस्नेहरु पनि घरबाहिर निस्किएका छैनन् ।
जिल्ला प्रशासन कार्यालय धनकुटाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले एक सूचना जारी गरेर अत्यावश्यक सेवा बाहेक सबै सार्वजनिक स्थल, बजार, उद्योग, कलकार खाना बन्द गर्न निषेधाज्ञा जारी गर्नुभएको हो ।
सूचनामा आदेश पालना नभएमा कानून वमोजिम कार्वाही हुने पनि उल्लेख छ । प्रमुख जिल्ला अधिकारी बिमलीका अनुसार अत्यावश्यक सवारी साधन मात्र चल्न पाउने छन् एक्लाएक्लै नागरिकहरुले दाल, चामल किन्न र स्वास्थ्य सेवा लिन जान पाउनेछन् ।