धरान । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुले ओपीडी सेवा बन्द गरेपछि सामान्य विरामीहरुलाई उपचार तथा परामर्श दिन चिकित्सकहरुको संस्था हातेमालो फाउन्डेसनले हटलाइन सेवा सुरु गरेको छ ।
हटलाईनमा आएका समस्या फोनबाटै गर्ने र परामर्शबाट नभए घरसम्म पुगेरै भएपनि उपचार गर्ने उद्देश्यले हटलाईन सेवा सुरु गरेको फाउण्डेसनले जनाएको छ ।
धरानमा रहेका चिकित्सकहरुको संस्था फाउन्डेशनले विगतमा समेत उपचारको पहुँच नपुगेको स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको थियो । अहिले फेरि फाउन्डेशनले संक्रमणको महामारीका समयमा अस्पतालमा समेत लकडाउनको अवस्था भइरहेको अवस्थामा सर्वसाधारणको उपचारमा सहजता अपनाउन सर्वसुलभ उपचार गर्ने भएको हो । विपीमा ओपीडीलगायतका सेवा बन्द भएको र हेल्पलाइनबाट उपचार गर्ने भएपछि हातेमालो फाउन्डेशनले भने समस्या भएका विरामीको घरमै गएर उपचार गर्ने भएको छ ।
फाउण्डेसनले प्रत्येक समस्याका लागि अगल–अगल हटलाईन नम्बरको व्यवस्था गरेको छ । साथै फेसबुकमा हातेमालो फाउण्डेसनको पेजमार्फत पनि आफ्ना समस्या राख्न सकिने र त्यहींबाट समाधान गर्ने फाउन्डेशनका प्रवक्ता डा.भुपेन्द्र साहले बताउनुभयो । उहाँले विरामीको रिपोर्ट फेसबुक म्यासेन्जरमा हाल्न लगाएर रिपोर्ट हेरेर विरामीलाई सल्लाह सुझाब दिने बताउनुभयो ।
हाडजोर्नी, दन्त चिकित्सा, मेडिसिन, सर्जिकललगायतका धरानका ३०÷४० जनाको चिकित्सको टोलीले यसरी सर्वसाधारणलाई सर्वसुलभ ढंगले सेवा दिने भएको हो । फाउन्डेशनका अध्यक्ष डा.इन्द्र लिम्बूले कोरोना भाइरसका कारण अस्पतालमा आउन नपाएका विरामीहरुलाई घरमै गएर उपचार गराउने बताउनुभयो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको चापलाई कम गर्दै सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखेर आफूहरुले सकेसम्म सर्वसाधारणको उपचारमा संलग्नहुने निर्णय गरेको अध्यक्ष डा.लिम्बूले बताउनुभयो । सबै विभागका चिकित्सकहरु यस फाउन्डेशनमा आवद्ध भएकाले सर्वसाधारणको मधुमेह, उच्च रक्तचाप, छालाको समस्या, मुटुको समस्यालगायतका यावत समस्याको समाधान प्रतिष्ठानको ओपिडीको समय विहान १० बजेदेखि बेलुका ५ बजेसम्म गर्ने अध्यक्ष डा.लिम्बूले बताउनुभयो ।