विराटनगर । कोरोना भाइरसको जोखिम कम गर्न सरकारले लकडाउनको घोषणा गरेपनि कतिपय सर्वसाधारणले गम्भीर रूपमा नलिएको पाइएको छ ।
सरकारले मंगलबारदेखि चैत १८ गते बिहान ६ बजेसम्मको लागि लकडाउन घोषणा गरेको भएपनि विराटनगरमा कतिपय पसलमा भिडभाड र सडकका पनि मानिसहरुको चहलपहल रोकिएको छैन ।
प्रशासनले कडाइ नगर्दा लकडाउनको पहिलो दिन प्रभाव देखिएको छैन । अत्यावश्यक सेवाका क्षेत्र मात्रै खुला हुने सरकारले बताएको भएपनि त्यसो हुन सकेको छैन ।

सडकमा फाटफुट रुपमा चार चक्के सवारी साधन सञ्चालनमा रहेकोमा मोटरसाइकललगायतका दुई चक्के सवारी साधन भने निर्वाध चलिरहेको देखिन्छ ।
लकडाउन उल्लंघन भएको पाइएपछि प्रहरीले विराटनगर महानगरको गुद्री बजार बन्द गराएको छ । बाक्लो आवतजावत हुने गुद्री बजारका व्यपारीहरूले सरकारी निर्देशन पालना गर्न अटेरपछि प्रहरीले बिहान ११ बजे बलप्रयोग गरेर गुद्री बजार बन्द गराएको हो ।


यति मात्र हैन अति आवश्यक पर्दा मात्र घरबाट निस्कन र अरुबेला घरमै बस्न सरकारले गरेको उर्दी पनि मानिसहरूले पालना गरेका छैनन् । विराटनगर महानगरको चौक र सडकमा मानिसहरूविना मास्क खुल्ला हिँडडुल मात्र गरिरहेका छैनन झुण्डझुण्डमा भेला भएर गफ हाँकिरहेको भेटिन्छन् । चिया पसलमा चुरोट सेवन गर्नेहरुको पनि भिड रहेको देखिन्छ ।

सरकारले लागू गराएको लक डाउन उल्लंघन गर्नेलाई एक महिनासम्म कैद सजायको व्यवस्था छ । संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना हुने उल्लेख छ । ऐनको दफा ३ मा उल्लेख गरिएको छ, ‘यो ऐन वा यस ऐनअन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्तिउपर १ महिनासम्म कैद वा १०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’


