विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ८२६ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार २ लाख ८३ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये ९३ हजार ५३५जना उपचारपछि घर फर्किएका छन् भने १ लाख ७३ हजार उपचारको क्रममा छन् । यसको सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परिसकेको छ ।
चीनको बुहानबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । यसबाट चीनमा ३ हजार २५५ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार जना सङ्क्रमित भएका थिए ।
भाइरसको कारण सबैभन्दा धेरै इटालीका नागरिकको मृत्यु भएको छ । इटालीमा ४ हजार ३२ जनाको मृत्यु भइसकेको छ । इटालीमा ३७ हजार ८६० जना सङक्रमित छन् भने ५ हजार १२९ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
इटालीपछि इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण १ हजार ४३३ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४६६ जना सङक्रमित रहेका छन् । ६ हजार ७४५ जना उपचारपछि घर फर्किएका बताइएको छ ।
स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण १ हजार ९३ व्यक्तिको मृत्यु भएको छ । त्यहाँ १८ हजार ८९० जना सङक्रमित रहेका छन् । अमेरिकामा २७५ व्यक्तिको मृत्यु भएको छ भने १९ हजार ३५२ जना सङक्रमित रहेका छन् । यस्तै फ्रान्समा ४५० जनाको मृत्यु भएको छ भने १० हजार ५७५ जना सङक्रमित रहेका छन् । दक्षिण कोरियामा १०२ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ८५ जनामा अझै पनि सङ्क्रमण छ ।
कोरोना भाइरस संक्रमणका कारण स्वीजरल्याण्डमा ५६ जना, बेलायतमा १७७ जना, नेदरल्याण्ड्समा १०६ जना, बेल्जियममा ३७ जना र जापानमा ३५ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कम्तीमा २७० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएकोमा ५ जनाको मृत्यु भएको छ ।
दक्षिण एसियाली अन्य मुलुकहरु श्रीलङ्कामा ७३, अफगानिस्तानमा २४, बङ्गलादेशमा २०, माल्दिभ्समा १३ र भुटानमा २ जना सङ्क्रमित देखिएका छन् ।पाकिस्तानमा हालसम्म ५ सय १९ जना संक्रमित भएका छन् भने पाकिस्तानमा चार र बंगलादेशमा एक जनाको मृत्यु भएको छ । (एजेन्सीको सहयोगमा)