विराटनगर । सामाजिक सुरक्षा भत्ता वापतको रकम बैंकमा जम्मा भएपछि शुक्रबार बिहानैबाट विराटनगरका बाणिज्य बैंकहरुमा मानिसको भीड बढेको छ । महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता निकासा गरेपछि बुझ्न जानेको भिड बढेको हो ।
चौमासिक रूपमा निकासा हुने भत्ता महानगरले फागुन अन्तिममा बैंक पठाएको थियो । बैंकले विवरण दाखिला गरेपछि राष्ट्रिय वाणिज्य बैंकले शुक्रबारबाट वितरण सुरु गरेको हो । भत्ता लिन बैंकमा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुको ठूलो भिड लागेको छ । त्यस बाहेक सामाजिक सुरक्षा भत्ता लिने एकल महिला, दलित आदि समूदायको पनि बाक्लो उपस्थिति रहेको छ ।
यतिबेला कोरोना भाइरस संक्रमको त्रास सर्वत्रै फैलिएको छ । सरकारले भाइरस संक्रमणबाट जोगिन आव्हान गर्दै २५ जनाभन्दा बढी भेला नहुन भनिरहेको छ । तर त्यसलाई वेवास्ता गर्दै वृद्धवृद्धाहरु बैंकमा भेला भएका छन् ।
वाणिज्य बैंकहरुले हात धोएर कार्यालय प्रवेश गर्ने प्रवन्ध त गरेका छन् तर भिडका कारण सुरक्षित हुने अवस्था छैन । बैंकहरुले भिडलाई व्यवस्थित गर्न पनि सकेका छैनन् । भिडभाडमा जानु हुँदैन भन्ने जानकारी भएरपनि वृद्धवृद्धाहरु भत्ता बुझ्न हिडेका छन् । वृद्ध भत्ताले गर्दा उनीहरुमा कोरोना त्राससमेत देखिदैन ।
कोरोना संक्रमण भए त्यसबाट वृद्धवृद्धाहरु सबैभन्दा जोखिममा पर्ने गरेको तथ्य विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरिसकेको छ । यस्तो बेलामा भत्ता उपलव्ध गराउने विषयमा महानगरलेसमेत सचेतता अपनाएको देखिदैन ।