सयौं वर्ष पुरानो सिक्का भेटियो

धरान । सुनसरीको धरान १४ स्थित पिण्डेश्वर विद्यापिठले नयाँ व्यवसायिक भवन बनाउन जग खन्ने क्रममा बुधबार पुरातात्विक महत्वको पुराना सिक्काहरु भेटिएको छ ।

जग खन्ने क्रममा डेढ सयभन्दा बढी संख्यामा भेटिएका सिक्काहरु सयौं वर्ष पुराना रहेको अनुमान गरिएको छ ।

सिक्कालाई बिहिबार १४ नम्बर वडा कार्यालय, पिण्डेश्वर बाबाधाम समिति र पिण्डेश्वर विद्यापिठ क्याम्पस प्रशासनको रोहबरमा मुचुल्का उठाएर अस्थायी प्रहरी चौकी विजयपुरको जिम्मा लगाइएको छ । वडाका अध्यक्ष कृष्णप्रसाद भट्टराईका अनुसार तामा जस्तै धातुको १६० थान सिक्का भेटिएको हो । ती सिक्कामा भएको अक्षरहरु कतिपय बुझिदैनन् भने एउटा तत्कालिन राजा सुरेन्द्र साहको पालाको भएको लेखिएको प्रष्ट देखिन्छ । अर्को एउटा सिक्का इष्ट इण्डिया कम्पनीको पालाको पनि रहेको छ।

सोही क्रममा एउटा वाला पनि भेटिएको थियो भने ९ वटा ढुंगाको टुक्रा जस्तो पनि भेटिएको छ । क्याम्पसको जग खन्दा पुरातात्विक महत्वको सिक्काहरु भेटिएपछि पुरातत्व विभागले तत्काल जग खन्ने कार्य रोक्न आग्रह गरेको छ ।

विभागको आग्रहपछि जग खन्ने कार्य रोकिएको वडाअध्यक्ष भट्टराईले बताउनुभयो । ‘यस्तो पुरातात्विक महत्वको ठाउँहरुको संरक्षण गरेर सरकारले नै उत्खनन गर्नुपर्छ, धरानका राजनीतिक दलहरुका नेताहरुको भनाई छ ।

शुक्रबार, ०७ चैत, २०७६, बिहानको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर