पथरी । कोरोना भाइरसको त्रास बढेको बेला मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा मास्कको कालोबजारी भएको तथ्य फेला परेको छ ।
पथरीशनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा डाक्टर, प्रहरी, पथरी उद्योग वाणिज्य संघका प्रतिनिधिसहितको संयुक्त अनुगमन् टोलीले मंगलबार नगरका ६ वटा स्वास्थ्य संस्थामा अनुगमन गरेको थियो ।
नगरपालिकाको शनिश्चरे बजारमा रहेको शनिश्चरे डाइग्नोष्टिक सेन्टरमा कागजको मास्क ३० रुपैयाँ प्रतिगोटा बिक्री भइरहेको टोलीले फेला पारेको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट बाँस्तोलाले जानकारी दिनुभयो । पहिलो पटक बिक्रेतालाई चेतावनी दिएर छाडेको टोलीले जनाएको छ ।
टोलीको अनुगमन आएको सुइको पाएपछि शनिश्चरे हाटखोलाका २ वटा फार्मेसी सञ्चालक पसल बन्द गरेर भागेका थिए । सञ्जुबाबु गुप्ताले सञ्जुबाबा मेडिकल हल नामक पसल वडा नम्वर १ र २ मा एकसाथ गैरकानूनी रुपमा सञ्चालन भएको पनि अनुगमन टोलीले फेला पारेको थियो । नगरको मन्दिर लाइनमा मोहिनीराम चम्लागाईंको प्रमाणपत्र राखेर गुप्ताकी श्रीमती पूजाकुमारीले औषधि विक्री गरिरहेको पाइएको थियो । गुप्ताले नगर अस्पताल नजिकै सोही नामको पसल सञ्चालन गर्ने गरेका छन् ।
अनुगमन टोलीले पथरी चोक उत्तरको शुभसंगीता फार्मेसीमा म्याद सकिएको औषधि फेला पारेको थियो । त्यस्ता औषधि तत्काल फिर्ता गर्न निर्देशन दिइएको छ । वडा नम्वर २ स्थित बुद्धचोकको सिटिजन फार्मेसीको दर्ताको कागजात फेला नपरेको र औषधि बिक्री गर्ने आधिकारिक व्यक्ति पनि नरहेको पाइएको छ ।
टोलीले स्वास्थ्य क्षेत्रमा लापरवाही नगर्न र त्यस्तो लापरवाही दोहो¥याए कानूनी कारवाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । अनुगमनको क्रममा बजारमा मास्कको अभाब भएको पाइएको उपप्रमुख बाँस्तोलाले जानकारी दिनुभयो । यसैबीच राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरेले एक विज्ञप्ति जारी गरी नगरमा मास्क लुकाएर कालोबजारी गर्ने कार्य नरोकिए कडा कदम चाल्ने चेतावनी दिएको छ ।