विराटनगर । वैदेशिक रोजगारमा जानेहरूको लागि श्रम स्वीकृति दिने र श्रमिकको समस्या सुन्ने कार्यालय श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख दुई दिनदेखि कोठा थुनेर बसेको सेवाग्राहीले बताएका छन् । भ्रष्टाचार विरोधी अभियान्ताको छवि बनाएका सञ्जेल विराटनगर– ३ स्थित कार्यालय पहिलो तलाको मुख्य गेटमा दुई दिनदेखि ताला झुण्ड्याएर भित्र बसेको छन् ।
सञ्जेल कार्यालयभित्र छन् भने गेटमा एक जना कर्मचारी बसेका छन् । उनले कार्यालय प्रमुख सरले कसैलाई भित्र आउन नदिन भनेको भन्दै सेवाग्राहीलाई फर्काउने गरेका छन् ।
कार्यालय परिसरमा सेवा लिन सेवाग्राही आउँदा पनि कार्यालय नखुलेपछि मंगलबार होहल्ला र नाराबाजी भएको थियो । नाराबाजी गर्नेमध्ये केहीले झ्यालमा हिर्काए भने कसैले ढोकाबाट भित्र पस्न खोजेका थिए । तर, भित्रबाट बन्द गरिएको ढोका खुलेन ।
सेवाग्राहीले होहल्ला गर्दा पनि कार्यालयभित्र सञ्जेलसहित अन्य कर्मचारी रहेका थिए । उनीहरुले वास्ता गरेनन् । कर्मचारीले नसुने झै जस्तो गरेर बसेको सेवाग्राहीको आरोप छ । कोरोना भाइरसको संक्रमणका कारण कार्यालयले वैदेशिक रोजगारीमा जानेका लागि दिँदै आएको श्रम स्वीकृत गत फागुन २९ गतेबाट अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित गरेको छ । तर, श्रम स्वीकृति बाहेकका अन्य कामको विषयमा भने सूचनामा केही भनिएको छैन । मंगलबार दिउँसैबाट कार्यालयको ढोका बन्द गरेको विषयमा आधारिक जानकारी दिइएको छैन ।
कार्यालयका प्रमुख प्रेम सञ्जेललाई यसबारे बुझ्न पटक–पटक फोन गर्दा पनि उठाएनन् । कार्यालयबाट श्रम स्वीकृति, उद्योग प्रतिष्ठानको अनुगमन, उद्योगहरूले पारिश्रमिक दिए÷नदिएको अनगुमन तथा कारबाही, उद्योग प्रतिष्ठानमा युनियन दर्ता गराउने जस्ता काम हुने गरेको छ । बिनासूचना भित्रबाट कार्यालय बन्द गरेर कर्मचारी र कार्यालय प्रमुखभित्रै बसेपछि समस्या भएको सेवाग्राहीले बताएका छन् ।
मोरङको बूढीगंगा गाउँपालिकास्थित सुरभी पोलिमर्समा कार्यरत पार्वता भट्टराईले आफूलाई कम्पनीले बिनाजानकारी कामबाट निकालेपछि उजुरी दिन श्रम तथा रोजागर कार्यालयमा आएको बताउनुभयो । ६ वर्षदेखि कम्पनीमा काम गर्दै आएकोमा आपूmसहित तीन जनालाई कम्पनीले फागुन १२ गेट प्रवेशमा रोक लगाएको उहाँको भनाइ छ । त्यस विषयमा आफूले श्रम कार्यालयमा निवेदन दिएर कार्यालय प्रमुख सञ्जेल पनि भेटेर कुरा गर्न आएपनि ढोका बन्द गरिएकाले आफ्नो समस्या सुनाउन नपाएको उहाँले गुनासो गर्नुभयो ।
‘कार्यालयमा भेट्न आएको हाकिमसाब भित्र हुनुहुन्छ । ढोका खोल्नुहुन्न्,’ श्रम कार्यालय परिसरका सेवाग्राहीको भनाइ छ । ‘न्याय माग्ने कार्यालयमा दिउसै भित्रबाट ढोका लगाएपछि हामी कहाँ जानु ? ।’ बिनाजानकारी कार्यालय भित्रबाट बन्द गरेर मजदुर र ट्रेड युनियन सम्बन्धी काम लिएर आएकाहरूलाई कार्यालयबाट कुनै सेवा नपाएपछि बाध्य भएर नाराबाजी गर्नु परेको नेपाल ट्रेड युनियन महासंघ जिफन्टकी १ नम्बर प्रदेश सचिव निलम ढुङ्गेलले बताउनुभयो ।