विराटनगर । मुलुक संघीयतामा गएको चार वर्षपछि बल्ल नेपाली काँग्रेस मोरङले पार्टीलाई संघीय ढाँचामा पुनर्संरचना गरेको छ ।
पार्टी केन्द्रीय समितिले पुनर्संरचनाका लागि तय गरेको अन्तरिम व्यवस्था अनुसार मोरङमा यसै साता पुनर्संरचनाको सबै काम सम्पन्न गरेको सचिव मोदराज घिमिरेले जानकारी दिनुभएको छ ।
संघीय प्रणाली अनुसार पार्टी पुनर्संरचना गर्नुको साथै पार्टी एकताको काम पनि टुंग्याएको काँग्रेसले जनाएको छ । काँग्रेसले सहमतिका आधारमा क्षेत्रीय समितिहरु गठन गरेको र लोकतान्त्रिक फोरमबाट एकता गरेर आएकाहरुलाई कार्यविभाजन गरी जिम्मेवारी दिएको जनाएको छ ।
लामो समयसम्म पुनर्संरचनाको काम सम्पन्न हुन नसक्दा पार्टी गतिविधि सञ्चालनमा समस्या हुँदै आएको थियो । पार्टी एकता गरेको तीन वर्ष बित्नलाग्दा पनि गच्छदारसँगै एकता गरेर आएकाहरुलाई कुनै जिम्मेवारी दिइएको थिएन । त्यसले गर्दा पार्टीभित्र असन्तुष्टि पनि बढ्दै गएको थियो ।
नेपाली काँग्रेसको केन्द्रीय तहमा रहेको विवादका कारण पार्टी पुनर्संरचना र एकीकरणको काम पनि रोकिएको थियो । नेपाली काँग्रेसले मोरङमा ६ वटा संसदीय निर्वाचन क्षेत्र, १२ वटा प्रदेशसभाका क्षेत्र र १७ वटै स्थानीय तहको नेतृत्व सहमतिमा टुंगो लगाएको छ । त्यससँगै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट एकतामा आएका दुई पदाधिकारी र १५ सदस्य जिल्लामा थप गरिएको छ ।
नेपाली काँग्रेस मोरङले क्षेत्रीय सभापतितर्फ क्षेत्र नम्बर १ मा उर्लाबारीका मेयर खड्ग फागो, क्षेत्र नम्बर २ मा नागेश्वरप्रसाद सिंह, क्षेत्र नम्बर ३ मा गणेश खड्का, क्षेत्र नम्बर ४ मा विनोद बस्नेत, क्षेत्र नम्बर ५ मा दिलिप पोखरेल र क्षेत्र नम्बर ६ मा निरञ्जन रिजाललाई जिम्मेवारी दिइएको छ । यसअघि ९ निर्वाचन क्षेत्र भएको मोरङमा ९ जना क्षेत्रीय सभापतिहरु रहेकोमा पुनर्संरचना गरेर ६ जना क्षेत्रीय सभापतिहरु छनौट गरिएको छ । समायोजन गर्दा यसअघि निर्वाचन क्षेत्र नम्बर ४ का सुमन कुँवर, क्षेत्र नम्वर ३ का मोहनविक्रम कार्की र क्षेत्र नम्बर ८ का देवराज तामाङलाई प्रदेश निर्वाचन क्षेत्रको जिम्मेवारी दिइएको छ ।
प्रदेश निर्वाचन क्षेत्रीय समिति अन्तर्गत १२ जना सभापतिहरुको टुंगो गरेको सचिब घिमिरेले जानकारी दिनुभयो । प्रदेश निर्वाचन क्षेत्र नम्बर १ (१) मा प्रकाशचन्द्र थापा, १(२) मा इश्वरी कोइराला, २(१) मा खड्ग चोङ्माङ्, २ (२) मा सुमन कुँवर, ३ (१) मा रणसिंह राई र ३(२)मा जगतलाल चौधरी सभापति बनेका छन् । क्षेत्र नम्बर ४(१)मा मोहनविक्रम कार्की, ४(२) मा सुनिल घिमिरे, ५(१) मा अचानु खाँ गनगाई, ५(२) मा मनोज साह तथा ६ (१) मा देवराज तामाङ र ६(२) मा जितेन्द्र गोल्छालाई सभापतिमा चयन गरिएको काँग्रेसले जनाएको छ ।
काँग्रेसले एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकासहित सबै स्थानीय तहहरुको नेतृत्व पनि टुंगो लगाएको छ । विराटनगर महानगरपालिकाको सभापतिको जिम्मेवारी मेयर भीम पराजुलीले नै पाउनुभएको छ । सुन्दरहरैंचामा कृष्णबहादुर लिम्बू, बेलबारीमा राजकुमार लामा, पथरीशनिश्चरेमा टेकबहादुर थापा, लेटाङमा राजकुमार लामा, उर्लाबारीमा बीरबल थापा, रतुवामाईमा जीवन पनेरु, सुनवर्षीमा कमलकिशोर सिंह र रंगेलीमा जगन्नाथ मण्डललाई जिम्मेवारी दिइएको छ । गाउँपालिकातर्फ धनपालथानमा मानिकचन मण्डल, जहदामा महेन्द्र मण्डल, कटहरीमा रामकुमार कामत, ग्रामथानमा तुलसी विश्वास, बुढिगंगामा विष्णु पौडेल, केराबारीमा प्रकाश बस्नेत, मिक्लाजुङमा सेमन्त दाहाल र कानेपोखरीमा योगन्द्र दाहाललाई बनाएको जिल्ला सचिव घिमिरेले बताउनुभयो ।
मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) तर्फका मोरङ सभापति भक्तिनाथ माझीलाई नेपाली काँग्रेस मोरङको उपसभापति बनाइएको छ । पार्टी एकतालाई कार्यान्वयन गर्दै माझीलाई उपसभापति बनाइएको हो । यसैगरी लोकतान्त्रिकका सचिव प्रदिप विश्वासलाई जिल्ला सहसचिव बनाइएको छ । दुई जना पदाधिकारी बाहेक थप १५ जना सदस्यलाई जिल्ला समितिमा समावेश गरेर पार्टी एकता सम्पन्न गरेको काँग्रेसले जनाएको छ ।
कोरोनाले बैठक स्थगन
यसैबीच कोरोना संक्रमण त्रासलाई मध्यनजर गर्दै नेपाली काँग्रेस मोरङको बैठक स्थगन भएको छ । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेका अनुसार चैत ५ गतेको लागि तय भएको बैठक स्थगन गरिएको हो । काँग्रेसले आफ्ना भातृ संगठनमार्फत कोरोनाबारे जनचेतनालगायत कार्यलाई भने निन्तरता दिने तयारी थालेको जनाएको छ ।