मुख्यमन्त्री राई र राजदूत भोरोनोकाबीच भेटवार्ता

विराटनगर, ३० फागुन÷प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच शुक्रबार भोटवार्ता भएको छ । राजदूत कोडीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राईसँग भेटवार्ता गर्नुभएको हो ।
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत भएकाका कामहरुको बारेमा राजदूत कोडीले मुख्यमन्त्री राईलाई जानकारी गराउनु भएको थियो । नेपालमा संघीय प्रणाली अवसरको रुपमा रहेको भन्दै संघीयता लागू भएको देशहरुमा पनि कार्यान्वयन गर्न समय लागेको स्मरण गराउनुभएको थियो ।
संघीयता कार्यान्वयन, कर्मचारी समायोजन लगायतका विषयमा राजदूत कोडीले जिज्ञासा राख्नुभएको थियो । उहाँले प्रदेश १ सरकारले गरेका कामहरुको प्रशंसा गर्नुका साथै डिजिटल प्रदेशको अवधारणा राम्रो रहेको बताउनुभयो ।
भेटवार्तामा मुख्यमन्त्री राईले नेपालले संघीयता पहिलो पटक अवलम्बन गरेको र मौलिकतामा आधारित रहेको बताउनुभयो । नेपाल विविधताले भरिएको देश हो, हामीले अवलम्बन गरेको संघीयता मौलिकतामा आधारित छ, मुख्यमन्त्री राईले भन्नुभयो ।
प्रदेश संरचना नयाँ रहको बताउँदै मुख्यमन्त्री राईले शुन्य संरचनाबाट सुरु भएर यो दुई वर्षमा महत्वपूर्ण आधारहरु तयार भएको जानकारी गराउनुभयो ।
मुख्यमन्त्री राईले भन्नुभयो कानुन निर्माण र आवश्यक संरचनाहरु तयार भएका छन् । प्रदेश तहमा जनशक्ति अभाव रहेको बताउँदै मुख्यमन्त्री राईले प्रदेश लोकसेवा आयोग गठन भएकोले समस्या समाधान हुने बताउनुभयो । जनताका असिमित चाहना र सिमित स्रोतकाबीच काम गरिरहेको मुख्यमन्त्री राईले बताउनुभयो । प्रदेश सरकारले पञ्चवर्षीय आवधिक योजना, १० बर्षे सडक गुरुयोजना सार्वजनिक गरिसकेको भेटवार्ताका क्रममा बताउनुभयो ।
मुख्यमन्त्री राईले साना सिँचाइ, सहरी विकास, पर्यटनको गुरुयोजना बनिरहेको बताउँदै चिफ मिनिस्टर ड्यास बोर्डको काम भइरहेको बताउनुभयो ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालबालिका सम्बन्धि विधेयक प्रदेश सभामा पेश भएको बताउँदै उक्त विधेयकले वालबालिकाहरुको अधिकार सुनिश्चित हुने बताउनुभयो ।
भेटवार्तामा राजदूत कोडीसँग युनिसेफको नेपाल प्रतिनिधि इल्क वीचलगायतका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।

शुक्रबार, ३० फागुन, २०७६, दिउँसोको ०३:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर