ब्राउन सुगरको ट्रान्जिट बन्दै झापा

सुनको भाउँमा किनबेच हुने लागुऔषध

सुनको भाउँमा किनबेच हुने लागुऔषध
विराटनगर । झापाको मेचीनगर नगरपालिका–६ मेची डाँडाबाट १६ ग्राम खैरो हेरोईन (ब्राउन सुगर) सहित फागुन २७ गते सुनसरीको धरानका–८ का २६ बर्षीय कृष्ण दाश दर्जीलाई प्रहरीले पक्राउ ग¥यो । भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका दर्जीलाई चेकजाँच गर्ने क्रममा ब्राउन सुगर बरामद भएको हो ।

मोरङ र झापाका २ स्थानबाट एकैदिन २६ गते १६ ग्राम २५ मिलिग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ परे । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका– ८ का २९ वर्षीय कमान सिंह राईलाई १५ ग्राम खैरो हेरोईन ब्राउनसुगरसहित पक्राउ गरेको हो । भारतीय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गरेका राईलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट १५ ग्राम ब्राउनसुगर बरामद भएको थियो ।

उता ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–७ का ३४ वर्षीय सुरेश खतिवडा र मेचीनगर नगरपालिका– १३ का २२ बर्षीय बिष्णु गिरीलाई १ ग्राम २५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ ग¥यो । फागुन २२ गते झापाको अर्जुनधारा–११ का २३ वर्षीय समिर माझी र २२ वर्षीय सुरज माझी पानीटंकीबाट काँकडभिट्टातर्फ आईरहेको बेला ४.५ ग्राम ब्राउनसुगरसहित पक्राउ परे ।

मोरङको पथरीशनिश्चरे र सुन्दरहरैंचाबाट प्रहरीले १८ फागुनमा ब्राउनसुगरसहित चार जनालाई पक्राउ परेका थिए । इप्रका पथरीका डिएसपी दिलिप गिरी नेतृत्वको टोलीले पथरीशनिश्चरे नगरपालिका १ नयाँ सोमबारेबाट २६ वर्षीय सनम मगर र १८ वर्षीय रेश्मे मगर पक्राउ परेका थिए । उनीहरुको साथबाट ७ ग्राम ८९ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । भारतको पानीट्यांकीबाट नेपाल भित्र्याएर छरछिमेकी युवालाई र विभिन्न स्थानसम्म पु¥याएर उनीहरुले ब्राउन सुगर विक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो ।

घरभित्रैबाट लागुऔषध बेच्नका लागि तौल गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । प्रहरीले उनीहरूको साथबाट ब्राउनसुगरको तौल लिने डिजिटल मेसिन पनि बरामद गरिएको थियो ।

उल्लेखित घटना प्रतिनिधिमुलक हुन् । पछिल्लो समय खुल्ला सीमानाको फाइदा उठाउँदै सुनको हाराहारीमा बिक्री हुने ब्राउनसुगरको तस्करीको बढेर गएको छ । तेस्रो मुलुक थाइल्याण्ड र म्यानमारबाट भारत हुँदै अवैध रूपमा ब्राउन सुगरका तस्करीका गिरोहले यो लागूऔषध भित्र्याउने गरेको पाइएको छ ।

ब्राउन सुगरको तस्करी गर्ने गिरोहले झापाको काँकडभिट्टा नाका प्रयोग गर्ने गरेको सुरक्षा निकायका अधिकारीको भनाई छ । काँकडभिट्टा नाका ब्राउनसुगरको ट्रान्जिट पोइन्ट बन्दै गएको छ । यो नाकाबाट मात्र फागुन २९ गतेसम्म भारतबाट नेपालतर्फ ब्राउनसुगर ल्याउने ३९ जना पक्राउ परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

झापापछि विराटनगर सीमा नाकाबाट अवैध लागूऔषध भित्रने गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरको अभिलेख अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ५ सय ६ जना लागूऔषधसहित पक्राउ गरेका छन् । यस्तै आव ०७३÷०७४ मा लागूऔषधसहित पक्राउ पर्नेको संख्यामा बृद्धि भएर ६ सय ४७ जना पुगेको छ ।

लागूऔषधको तस्करी गर्ने गिरोहलाई पक्राउ गर्न सीमा नाकामा प्रहरी र सशस्त्र बाहेक लागूऔषध ब्यूरोको टोलीलाई छुट्टै परिचालन हुने गरेको छ । ब्राउन सुगरको तस्करीमा लागेका गिरोहले नेपालको पूर्वी सहरमा ल्याएपछि ‘डोज’ को हिसाबले बिक्री गर्दछन् । एक ग्राम ब्राउनसुगरको ४० डोज बनाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । भारतबाट पूर्वको सहरहरूमा ल्याएपछि ३ हजारदेखि ५ हजार रूपैयाँसम्म प्रतिडोज बिक्री हुने गरेको बताइन्छ ।

गिरोहले भारतमा ब्राउनसुगर प्रतिग्राम १५ सयदेखि २ हजार रुपैयाँमा खरिद गरेर ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूले ल्याएको ब्राउनसुगर धरान, इटहरीको पूर्वी सहरदेखि काठमाडौसम्म पुग्ने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताउनुभयो ।

प्रदेशमा लागूऔषध विरूद्ध सचेतनामुलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी शेखर कोइरालाले जानकारी दिनुभयो । ‘जिल्लाहरूमा प्रहरीले लागूऔषध विरूद्धको सचेतनामुलक अभियान संचालन गर्दै आएको छ,’ उहाँले भन्नुभयोे, ‘हामीले स्कूलमा अध्ययनरत युवा विद्यार्थीहरूमाझ पनि अभियान सञ्चालन गर्दै आएका छौं ।’ प्रहरीले लागूऔषध प्रयोगकर्ताहरूलाई पनि सचेत गराउँदै आएको छ ।

शुक्रबार, ३० फागुन, २०७६, बिहानको ०७:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर