धरान । महंगो ब्याजको लोभमा सुन पसल सञ्चालकलाई रकम लगानी गरेका सुनसरीको धरानका स्थानीयहरु पसल सञ्चालक यौवन खड्गी सम्पर्कबिहिन भएपछि तनाबमा परेका छन् ।
धरान ३ स्थित न्यु जयन्ती स्टोर (सुन पसल) सञ्चालन गर्ने खड्गी बेपत्ता भएको भन्दै स्थानीयले वडा कार्यलयमा निवेदनसमेत दिएका छन् ।
खड्गीले धरानका बिभिन्न ब्यक्तिबाट रकम लिएर पसल बन्द गरी सम्पर्कविहिन भएको भन्दै खोजी गरिदिन बिहीबार वडा कार्यालयमा निवेदन दिएका हुन् । वडाअध्यक्षलाई सम्बोधन गरी लेखिएको निवेदनमा बिनिता श्रेष्ठ, ललिता श्रेष्ठ, रेखा खड्गी र फुलकुमारी खड्गीको हस्ताक्षर रहेको छ । धरानका सर्वसाधारणहरुले १८ प्रतिशत ब्याज दिने भन्दै खड्गीले रकम लिने गरेका थिए । न्यु जयन्ती स्टोर सुन पसलले ऋण लिने र दिने कारोबार गर्दै आएकोमा पसल नै बन्द गरेर खड्गी एक महिनादेखि बेपत्ता छन् ।
सर्वसाधारणले राखेको करोडौं रुपैयाँ जोखिममा पर्नेगरी करिव १ महिनादेखि खड्गी सम्पर्कबिहिन भएका हुन् । उनले करिब १२ करोड रुपैयाँ उठाएर बेपत्ता भएको स्थानीयको भनाइ छ ।
सर्वसाधारणको ५० हजारदेखि ३ करोड रुपैयाँसम्म पैसा खड्गीले लिएको बताइएको छ । धरान–१६ की गोमा तामाङको ६२ लाख लिएका छन् । १५ प्रतिशतले व्याज दिइरहेको बेला एक्कासी उनी हराएको पीडितको भनाइ छ । यस्तै ललिता श्रेष्ठको ३१ लाख डुवेको बताएकी छन् । आफ्नै घरमा सुन पसल चलाएका खड्गीले घर पनि कृषि विकास बैंकमा धितो राखेको बताइएको छ ।
खड्गी गायब भएपछि पैसा जम्मा गरेका सर्वसाधारणहरु जनप्रतिनिधिसहित छलफल तथा जानकारी लिन उनको घर पुगेका थिए । आफ्नो पैसा डुब्ने डरले सयांै स्थानीयले घरमा पुगेपनि खड्गीकी श्रीमतीले आफ्ना श्रीमान बेपत्ता भएको भन्दै खोजी गरिदिन प्रहरीमा निवेदन दिएको जानकारी दिनुभएको थियो ।