विराटनगर । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सरकार गलत बाटोमा भएपनि नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताउनुभएको छ ।
विराटनगरमा बुधबार काँग्रेस निकट प्राध्यापक र बुद्धिजीविहरूसँगको छलफलमा नेता कोइरालाले नेकपाकै नेताहरुले प्रतिपक्षीको प्रस्तुती बलियो हुनुपर्ने बताएपनि काँग्रेसको नेतृत्वले त्यो भूमिका पुरा गर्न नसकेको बताउनुभयो ।
‘नेकपाका साथीहरू नै प्रमुख प्रतिपक्ष कडा रुपमा उत्रिनुपरो भन्नुहुन्छ’, कोइरालाले भन्नुभयोे, ‘नेकपा नेताहरू नै सरकारको कामबाट सन्तुष्ट नरहेकोले सरकारका गलत कामको प्रतिपक्षले आवाज उठाइदिए हुन्थ्यो भन्ने उहाँहरूको चाहना छ ।’ तर, जुन रुपमा काँग्रेसले आवाज उठाउनुपर्ने हो त्यसअनुसार उठाउन नसकेको उहाँको भनाइ छ ।
काँग्रेसले संसदमा आफूलाई खरो रुपमा प्रस्तुत गर्न नसकेको बताउँदै कोइराराले राष्ट्रिय राजनीति, सरकारका गलत क्रियाकलाप, जनताका समस्यालाई काँंग्रेसले सशक्त रुपमा उठाउनुपर्नेमा जोड दिनुभयो । काँग्रेस नेतृत्व काठमाडौंमा मात्रै सीमित भएको भन्दै उहाँले आफू निकटका व्यक्तिलाई पद बाँडेर बलियो भएको भ्रममा नेतृत्व रहेको दावी गर्नुभयो ।
शेरबहादुर देउवा समग्र पार्टीको सभापति हुन नसकेको जिकिर गर्दै कोइरालाले नेतृत्वले नै गुटको राजनीति गर्नु गलत भएको बताउनुभयो । ‘सभापतिजी पद बाँडेर आफू बलियो हुन खोज्दै हुनुहुन्छ, उहाँले भन्नुभयो, ‘गिरिजाबाबु सभापति हुँदा पनि समस्या थियो । तर, उहाँ पद बाँड्नु हुन्नथ्यो ।’
भागबण्डाको राजनीतिले काँग्रेसलाई कमजोर बनाएको बताउँदै कोइरालाले देउवा सभापति भएपछि भागबण्डाको राजनीति झनै झांगिएको दाबी गर्नुभयो । भागबण्डाको राजनीतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि साथ दिएको आरोप लगाउँदै उहाँले आफ्नो मान्छे पर्दा चुप बस्ने अनि नपर्दा विरोध गर्ने चरित्र वरिष्ठ नेताहरूमा रहेको बताउनुभयो । नेविसंघमा आफ्नो नेतृत्व हुने भएपछि हद नतोक्न पौडेल तयार भएको उहाँको भनाइ छ ।
कोइरालाले सरकारकै कारण लोकतन्त्र खतरामा पर्दै गएको दाबी गरर्दै सरकारप्रति जनताको वितृष्णा बढ्दै गएको बताउनुभयो । वाइडबडी, निर्मला हत्याकाण्ड, ३३ किलो सुन, ७० करोड कमिसनलगायतका काण्डका कारण सरकारप्रति जनताको विश्वास गुमेको उहाँको भनाइ छ । प्रधानमन्त्रीले सेक्युरिटी प्रेस खरिदको ७० करोड टेपकाण्ड सार्वजनिक हुँदा पनि गोकुल बाँस्कोटाको डिफेन्स गर्नुले सरकारले नै भ्रष्टाचारको संरक्षण गरिरहेको पुष्टि हुने कोइरालाले बताउनुभयो ।
‘मैले त अस्ति प्रधानमन्त्रीलाई भेट्दा तपाईंमाथि नै आशंका उब्जिएको छ भनिदिएँ’, कोइरालाले भन्नुभयो, ‘प्रधानमन्त्रीले गोकुल बास्कोटाले गल्ती गरेको रहेछन् भने पार्टीबाटै निकाल्छु भन्नुभएको भएपनि अहिले उनकै रक्षामा बोलिरहनु भएको छ । अब हेरौं कतिको कारबाही गर्नुहुन्छ ।’ सरकार र पार्टीहरूले गरेका गलत कामका विषयमा आवाज उठाउन प्राध्यापक र बुद्धिजीविसँग आग्रह गर्दै उहाँले मुलुकमा अन्यथा बिकृत बढ्ने टिप्पणी गर्नुभयो ।