काठमाडौं । पूर्वसञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा विप्लव समूहले बम विष्फोट गराएको खुलासा भएको छ ।
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई प्रतिवन्ध लगाएको ठीक एक वर्ष पुगेको सन्दर्भमा बम विष्फोट भएको हो । बन्दै गरेको घरको सुरक्षामा सशस्त्र प्रहरीका सईको कमाण्डमा दुई जना प्रहरीलाई सुरक्षाका लागि राखिएको थियो । तर, उनीहरुले विष्फोटक पदार्थ राखिएको सुइँकोसमेत पाएनन् ।
घटनास्थलमा नेकपाद्वारा जारी ‘भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?’ शीर्षकमा पर्चा छरिएको छ । जसमा विभिन्न १० कारण उल्लेख छ ।
बास्कोटामाथि विप्लवका आरोप :
- सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।
- २४ अर्बको सेटलाइट खरिद प्रकरण करोडौं रकम भ्रष्टाचार गरेकाले । १९ अर्बको फेरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरुपयोग गरेकाले ।
- १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कंगाल बनाउने भूमिका खेलेकाले ।
- मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा सुविधाका नाममा करोडौं हिनामिना गरेकाले ।
- सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूलो परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
- नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
- राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
- आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमक लाद्ने, चरम असहिष्णु, दलाल पूँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
- देशलाई अहिलेको जर्जर र संकटग्रस्त अवस्थामा पु¥याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।