रक्सीले मातेर श्रीमतिको हत्या

विराटनगर । विराटनगरका एक बृद्धले दाउराले हानेर सोमबार आफ्नै श्रीमतिको हत्या गरेका छन् ।

विराटनगर महानगरपालिका–१२ मलंगवाका ७२ वर्षीय परण ऋषिदेवले सिसौको दाउराले प्रहार गर्दा ७० वर्षीया श्रीमती सवुत्री ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले श्रीमान र श्रीमतिबीचमा उत्पन्न भएको विवादका कारण घटना भएको जनाएको छ । विवादको कारण खुलेको छैन । परणले प्यारालाइसिसका कारण ५ वर्षदेखि थलिएर बसेकी श्रीमतीको कम्मरमा दाउराले प्रहार गरेको र त्यही कारण उनको मृत्यु भएको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताउनुभयो ।

श्रीमतीको हत्या गरेका परणले अत्याधिक मादक पदार्थ सेवन (मापसे) गरेको पाइएको छ । प्रहरीको नियन्त्रणमा रहेका उनी रक्सीको नसामा थिए । प्रहरीले मापसेका कारण सुरु भएको विवाद हत्यामा पुगेर टुँगिएको जनाएको छ ।

श्रीमान र श्रीमतिबीचमा दिउँसो झगडा भएको सुनेको स्थानीय बासिन्दाले बताएपनि प्रहरीलाई घटनाका बारेमा साँझ मात्रै खवर आएको थियो । बृद्धबृद्धा प्रायः मापसे गरेर झगडा गरिरहने गरेको स्थानीयले प्रहरीलाई बताएका छन् ।

आफ्नो नाममा केही पनि सम्पत्ति नभएको ऋषिदेव परिवार सुकुम्बासी जीवन विताइरहेको थियो । एउटा सानो झुप्रो घरबाट उनीहरुको गुजारा चल्दैथियो । ऋषिदेव दम्पत्तिका तीन छोरामध्ये अपांगता भएका दुई जनाको बोली आउँदैन । एक जना छोराले ज्याला मजदुरी गरेर परिवार धान्दै आएका थिए ।

प्रहरीले हत्यामा प्रयोग भएको दाउरासमेत बरामद गरेको छ । मृतकको कोशी अस्पतालमा पोष्टमार्टमको लागि शव लगिएको र घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी गौतमले बताउनुभयो ।

मङ्गलबार, २७ फागुन, २०७६, बिहानको ११:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर