विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले पार्टी एकता तथा संगठन सुदृढिकरण अभियान सञ्चानलन गर्ने भएको छ ।
नेकपा मोरङको आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय सर्कुलर अनुसार पार्टीको तीन महिने अभियानलाई व्यापक रुपमा सञ्चालन गर्न पार्टीका सबै संयन्त्रहरूलाई परिचालन गर्ने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष ऋषिकेश पोख्रेलको अध्यक्षतामा बसेको बैठकले जिल्ला कार्यालयले गरेको कार्यविभाजन र विभाग गठनको निर्णयलाई अनुमोदन गरेको पार्टीका प्रचार विभाग प्रमुख मणि दाहालले जानकारी दिनुभयो । बैठकले महामारीको रूपमा फैलिएको कोरोना भाइरसको पूर्वसतर्कताको लागि जिल्लाका सबै शाखा तहका कमिटिहरूले जनसचेतना कार्यक्रम सञ्चालन गरि टोलटोलसम्म अभियान चलाउने निर्णयसमेत गरेको छ ।
बैठकले अस्पतालमा उपचार गराईरहनुभएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ भने जिल्लाबाट प्रदेश कमिटिमा मनोनयन हुनुभएका कमरेडहरूलाई हार्दिक बधाई दिने निर्णय गरेको छ । यसैगरी राष्ट्रियसभाका सदस्य गोपी अछामीको स्वकीय स्वकीय सचिबमा नरेन्द्र बराललाई पठाउने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इञ्चार्ज घनेन्द्र बस्नेत, सह–इञ्चार्जहरु महेश रेग्मी, गोपी अछामी, केन्द्रीय सदस्यहरु गुरु बराल र विनोद ढकालको उपस्थिति रहेको थियो । पार्टीको जिल्ला कमिटिको सचिबालय गठन भएपछि पहिलो बैठक बसेको हो ।