विर्तामोड । परीक्षामा विद्यार्थीलाई हुने भय हटाउन झापाको कचनकवल गाउँपालिकाले एसइई तयारी (अभ्यास) परीक्षा सञ्चालन गरेको छ ।
जिल्लाको १५ वटा स्थानीय तहमध्ये कचनकचवले आगामी चैत ६ गते हुन गइरहेको एसइई परीक्षालाई लक्षित गर्दै गाउँपालिकाभरिबाट एसइई परीक्षामा सामेल हुन विद्यार्थीका लागि अभ्यास परीक्षा सञ्चालनमा ल्याएको हो ।
शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले पहिलो पटक यस्तो परीक्षा सञ्चालनमा ल्याएको हो । शाखा प्रमुख छवि बस्नेतका अनुसार एसइई अभ्यास परीक्षाका लागि शाखाले दुई वटा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरेको छ ।
गाउँपालिकाका सामुदायिक तथा निजी गरी १० वटा विद्यालयबाट छात्रछात्रा गरी ५ सय ६५ विद्यार्थी परीक्षामा सामेल भएका छन् । लक्ष्मी मावि बनियानी र पथरीया मावि पथरीयामा सरकारले तोकेको एसइई परीक्षा तालिका अनुसार नै अभ्यास परीक्षा सञ्चालन गरिएको हो ।
परीक्षाको प्रश्नपत्र विज्ञ शिक्षकले तयार पारेका छन् । उत्तरपुस्तिका एसइई परीक्षामा दिइने जस्तै छपाएर दिएको गाउँपालिकाले जनाएको छ । केन्द्रको पहिचानसँगै परीक्षा वातावरण कस्तो हुने, मनमा भएको डर र त्रास हटाउने उद्देश्यले अभ्यास परीक्षा सञ्चालन गरेको हो ।
लक्ष्मी माविमा (क) र (ख) दुई वटा केन्द्र तोकिएको छ । ९क० केन्द्रमा लक्ष्मी माविका १०१ जना विद्यार्थी र (ख) केन्द्रमा जानकी मावि, कचनकवल अंग्रेजी मावि, विद्या निकेतन अंग्रेजी माविका गरी १७७ जना विद्यार्थी परीक्षामा सामेल भएका छन् भने पथरीया माविको केन्द्रमा पथरीयासहित महेन्द्र मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, मोती मावि, स्विडेन अंग्रेजी मावि, विद्या वाणी अंग्रेजी मावि र शिव माविका गरी २ सय ८७ जना विद्यार्थी परीक्षामा सामेल भएका छन् ।
गाउँपालिकाले ल्याएको यस्तो परीक्षा कार्यक्रमबाट विद्यार्थीको मनोबल उच्च भएको लक्ष्मी माविका केन्द्र अध्यक्ष सुभद्रा अधिकारीले बताउनुभयो । शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत गाउँपालिकाले ल्याएको यस्तो किसिमको कार्यक्रमले गाउँपालिकाभरिका विद्यार्थीको शैक्षिक गुणस्तरमा पक्कै सुधार आउने कचनकवल माविका प्रधानाध्यापक खगेन्द्र पाण्डेले बताउनुभयो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।