विराटनगर, ४ फागुन
मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङको ग्रामथान ३ रङ्गटोल बस्ने ५३ वर्षीय हरीलाल माझीको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ ।
ग्रामथान स्थित भित्रि कच्ची बाटोमा को ६ प ७९६९ नम्बरको मोटरसाईकलले पैदलयात्री माझीलाई ठक्कर दिँदा गम्भीर घाईते भएकोमा नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
यसैबीच मोरङको उर्लाबारी नगरपालिका–३ मा रहेको टीवीटी इँटा उद्योगका मजदुरको लडेर आइतबार मृत्यु भएको छ । उद्योगमा काम गर्ने क्रममा लडेर भारत बर्जनपुरुवा घर भएका ५५ वर्षीय पहलाद वर्माको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताउनुभयो ।
थापाका अनुसार वर्मा उद्योगको क्वाटर अगाडि लडेका थिए । उनको तत्काल मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
यसैगरी मोरङको रतुवामाई १ कल्याणपुरस्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटनामा परी रतुवामाई १ सोनापुरका २२ वर्षीय आबिद मिँयाको मृत्यु भएको छ । शनिबार राति को२७प ४६५० नम्बरको मोटरसाईकल सोही स्थानमा बाटोमा बिग्रिएर पार्किङ गरिराखेको को२त २८०० नम्बरको ट्रयाक्टरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालक मिँया घाइते भएका थिए ।
मियाँको उपचारको क्रममा रंगेली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।