विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले ठुलो परिमाणको गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ। जहदा–१ नयाँ बस्तीबाट बिहीबार राति सशस्त्र प्रहरीको गस्ती टोलीले बा १२ च ७५५२ नम्बरको कार नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल बीओपी मधुमल्लाबाट सई भोलाबहादुर कार्कीको नेतृत्वमा खटिएको टोलीलाई देख्नासाथ चालक कार छाडेर फरार भएका थिए। नयाँ बस्तीबाट कुलरिया नाका हुँदै भारततर्फ जाँदै गरेको उक्त कारलाई शङ्का लागेर चेकजाँच गर्दा सिटमुनि लुकाएर राखिएको १९ किलो ३२० ग्राम गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। गाँजासँगै कागजमा प्याक गरिएको ६० ग्राम शङ्कास्पद पहेँलो धुलो समेत बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार बरामद गरिएको गाँजा, शङ्कास्पद वस्तु र कारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ। बरामद भएको पहेँलो धुलो के हो भन्नेबारे यकिन भइनसकेको र यसबारे थप अनुसन्धान भइरहेको उनले बताए।
कारमा राखेर गाँजा भारततर्फ तस्करी गर्न खोजिएको प्रारम्भिक अनुमान गरिएको छ। फरार रहेका कार चालकको खोजी तीव्र पारिएको छ भने यस सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरे नेतृत्वको टोलीले थप कानुनी प्रक्रिया अगाडि बढाएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।