लोड हुँदैछ...

मेनु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने

आत्मदाह प्रयास गरेका गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि थप उपचारका लागि तत्काल भारत नलगिने भएको छ।

प्रारम्भिक रूपमा उनलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा रेफर गर्ने तयारी गरिएको भए पनि स्वास्थ्य अवस्था जटिल र अस्थिर रहेकाले चिकित्सकहरूको सुझावअनुसार तत्काल हवाई यात्रा नगराउने निर्णय भएको हो। बिहीबार दिउँसो आत्मदाह प्रयास गरेका नेपालीको शरीर ५५ प्रतिशत जलेको छ।

नेपालीलाई थप उपचारका लागि भारत पठाउन सरकारले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको थियो। उनलाई विमानस्थलसम्म पुर्‍याउन गृहमन्त्री सुदन गुरुङ आफैँ खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई रातभर परिचालन गरेका थिए। यद्यपि, चिकित्सकहरूले हालको अवस्थामा विदेश लैजान उपयुक्त नरहेको (नट फिट टु फ्लाई) निष्कर्ष निकालेपछि उक्त योजना हाललाई स्थगित गरिएको छ।

यसअघि सरकारले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै ब्यहोर्ने निर्णय गरिसकेको छ। अहिले उनलाई वीर अस्पतालकै बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहका सचिवालयका सदस्यहरू गएरातिदेखि नै वीर अस्पतालमा स्ट्यान्ड बाइ खटिएका छन् ।

नेपालीको उपचारका लागि वीर अस्पतालले २१ जना स्वास्थ्यकर्मीको विशेष टोली परिचालन गरेको छ। अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा। पियुष दाहालको नेतृत्वमा रहेको उक्त टोलीमा युनिट प्रमुख डा। अपार लामिछाने, क्रिटिकल केयरका डा। निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा। डा। रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू संलग्न छन्।

चिकित्सकहरूका अनुसार बिरामीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै थप उपचारका लागि भारत लैजाने प्रक्रिया अगाडि बढाइनेछ। मुगुको सोरु गाउँपालिका–१ का नेपालीले बिहीबार दिउँसो राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। उनलाई सोही दिन दिउँसो वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।