लोड हुँदैछ...

मेनु

एमालेको कोशीस्तरीय समीक्षा सुरु, पार्टी पुनर्गठनको बहस

एमालेको कोशीस्तरीय समीक्षा सुरु, पार्टी पुनर्गठनको बहस

विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाभन्दा कमजोर परिणाम बेहोरेपछि नेकपा (एमाले) ले सुरु गरेको चुनावी समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन अभियानअन्तर्गत कोशी प्रदेशस्तरीय छलफल विराटनगरमा सुरु भएको छ।

पार्टीले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठन गरेको कार्यदलमार्फत देशभर समीक्षा र सुझाव संकलन अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानअन्तर्गत विराटनगरमा सुरु भएको कार्यक्रममा कार्यदलका संयोजक थापासहित उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल तथा सचिवहरू भानुभक्त ढकाल, शेरधन राई र हिक्मत कार्की सहभागी भएका छन्।

छलफलमा कोशी प्रदेशका सबै केन्द्रीय सदस्य, प्रदेश कमिटी सचिवालय सदस्य, १४ वटै जिल्लाका पदाधिकारी, जनवर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको सहभागिता रहेको छ। कार्यक्रमको व्यवस्थापन एमाले कोशी प्रदेश कमिटीले गरेको छ।

एमालेले असार १९ गतेसम्म देशव्यापी समीक्षा अभियान सम्पन्न गर्ने लक्ष्य लिएको छ। यसअघि बागमती प्रदेशमा सम्पन्न समीक्षा भेलामा अधिकांश नेताहरूले पार्टीको संगठनात्मक संरचना, नेतृत्व शैली र कार्यदिशामाथि गम्भीर पुनरावलोकन आवश्यक रहेको धारणा राखेका थिए।

पार्टी स्रोतका अनुसार बागमती प्रदेशस्तरीय छलफलमा करिब ८५ प्रतिशत सहभागी नेताहरूले तत्काल पार्टी पुनर्गठन नगरे आगामी स्थानीय तह निर्वाचनमा झन् कमजोर परिणाम आउने चेतावनी दिएका थिए। करिब १० प्रतिशतले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पार्टीलाई अघि बढाउनुपर्ने मत राखेका थिए भने बाँकी सहभागीले मध्यमार्गी धारणा व्यक्त गरेका थिए।

उक्त छलफलको निष्कर्षपछि पार्टीभित्र नेतृत्व, संगठन र कार्यशैलीबारे बहस थप तीव्र बनेको छ। केही नेताहरूले समीक्षा अभियान रोक्न खोजिएको चर्चा गरे पनि अधिकांश पदाधिकारीको अडानपछि पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रदेशस्तरीय समीक्षा जारी राखिएको बताइन्छ।

गत प्रतिनिधिसभा निर्वाचनमा एमालेले इतिहासकै कमजोर मत परिणाम सामना गरेपछि पार्टीभित्र आत्मसमीक्षा, संगठन सुदृढीकरण र आगामी रणनीतिबारे बहस सुरु भएको हो। कोशी प्रदेशको छलफलबाट प्राप्त सुझावहरूले आगामी दिनमा एमालेको संगठनात्मक पुनर्संरचना र राजनीतिक कार्यदिशा निर्धारणमा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।