लोड हुँदैछ...

मेनु

असार २६ देखि नयाँ राहदानी प्रणाली लागू हुँदै, केही महिना सेवा प्रभावित हुने

असार २६ देखि नयाँ राहदानी प्रणाली लागू हुँदै, केही महिना सेवा प्रभावित हुने

विराटनगर । राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी सुरु गरेको छ। विभागले नयाँ राहदानी सेवा आपूर्तिदाता छनोट गरेसँगै आगामी असार २६ गतेदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।

राहदानी विभागको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै नयाँ प्रणालीमा रूपान्तरणका लागि तयारी भइरहेको जनाएको छ। नयाँ प्रणाली कार्यान्वयनमा ल्याउन तय गरिएको ‘कटअफ डेट’ भन्दा कम्तीमा एक हप्ता अगाडि हालको आवेदन प्रणाली बन्द गरिनेछ।

प्रशासनका अनुसार संक्रमणकालीन अवधिमा नयाँ प्रणालीबाट आवेदन संकलन गरिए तापनि ती आवेदनहरू स्थानीय रूपमा मात्र भण्डारण हुने र तोकिएको मिति अगाडि प्रशोधन हुने छैनन्। नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउनुअघि पुरानो प्रणालीमा बाँकी रहेका सबै आवेदनहरूको प्रक्रिया सम्पन्न गरी तथ्याङ्कहरू नयाँ प्रणालीमा सारिने कार्यालयले जनाएको छ।

नयाँ प्रणाली लागू भएपछि करिब ३ महिनासम्म ‘स्थिरीकरण’ अवधि रहने भएकाले सो अवधिमा राहदानी सेवा प्रवाहमा केही ढिलाइ वा सीमितता आउन सक्ने सूचनामा उल्लेख छ। प्रशासकीय अधिकृत सन्तोष घिमिरेद्वारा जारी सूचनामा यसबाट पर्न सक्ने असुविधाप्रति सेवाग्राहीलाई पूर्वजानकारी गराउँदै सहयोगको अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds