लोड हुँदैछ...

मेनु

ओमानलाई ८ विकेटले हराउँदै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

ओमानलाई ८ विकेटले हराउँदै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुरमा जारी एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सिंगापुरको सिंगा ओभल ग्राउन्डमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले नेपाली बलरहरूको कसिलो बलिङसामु टिक्न नसकी १९.४ ओभरमा सबै विकेट गुमाएर मात्र ९४ रन बनाउन सक्यो। ओमानका लागि कप्तान सुफ्यन महमुदले सर्वाधिक ३८ रन बनाए भने जुबाइर अली अकबरले २२ र अब्दुलजलिल खानले १६ रनको योगदान दिए।

ओमानलाई सस्तैमा समेट्न नेपालका करण केसीले घातक बलिङ गर्दै ३ विकेट लिए। त्यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट झारे भने साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट आफ्नो नाममा गराए।

९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र ९.२ ओभरमा २ विकेट गुमाउँदै फराकिलो जित हासिल गर्‍यो। नेपालको जितमा लोकेश बमले विष्फोटक इनिङ खेले। उनले मात्र २६ बलमा ७ चौका र १ छक्काको मद्दतले अविजित ४४ रन जोडे। यस्तै, कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे भने ओपनर कुशल भुर्तेलले २० रन बनाए।

नेपाल यसअघि सेमिफाइनल पुगेसँगै एसियाली खेलकुदका लागि छनोट भइसकेको छ। नेपालसँगै सेमिफाइनल पुगेका बाँकी तीन टोलीले पनि एसियाली खेलकुदमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।

अब नेपालले उपाधिका लागि सोमबार हङकङ र मलेसियाबिच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds