लोड हुँदैछ...

मेनु

विवादबीच रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल

विवादबीच रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनबाट सागर दाहाल जिल्ला सभापतिमा निर्वाचित भएका छन्। अधिवेशनका क्रममा मतदान अधिकारलाई लिएर विवाद उत्पन्न हुँदा केही समय तनावसमेत सिर्जना भएको थियो।

निर्वाचन समितिका अनुसार दाहालले १४२ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कृष्ण रौनियारले ७४ मत प्राप्त गरेका थिए।

यस्तै, उपसभापतिमा राजेशमान श्रेष्ठ, सचिवमा राजारामकुमार मेहता तथा सहसचिवमा योगेन्द्र गिरी निर्वाचित भएका छन्। सदस्यहरूमा लक्ष्मी सुवेदी, राजकुमारी मेहता, धर्मवीरकुमार आर्य, रेणुका हरिजन तथा गोकुल थापा निर्वाचित भएका छन्।

यसअघि कोशी गाउँपालिका–१ स्थित लौकही सिटी हलमा जारी अधिवेशनका क्रममा मतदान गर्ने अधिकारबाट केही कार्यकर्ताको नाम हटाइएको भन्दै विवाद भएको थियो। असन्तुष्ट पक्षका अनुसार जेन–जी युवा तथा रुष्ट कार्यकर्तालाई पेल्दै नेतृत्व चयन प्रक्रिया अगाडि बढाउन खोजिएपछि धकेलाधकेल र हात हालाहालको अवस्था सिर्जना भएको थियो।

मतदानको अधिकारबाट आफ्नो नाम हटाइएको विरोधमा केही युवाले बन्दसत्र हल प्रवेश गर्ने मुख्य ढोका बन्द गरेर धर्ना दिएका थिए। उनीहरूलाई हटाएर निर्वाचन प्रक्रिया अघि बढाइएपछि तनाव बढेको बताइएको छ।

यद्यपि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले हात हालाहाल भएको दाबी अस्वीकार गरेका छन्। उनका अनुसार केही समय होहल्ला र विवाद भए पनि स्थिति नियन्त्रणबाहिर गएको थिएन।

‘हात हालाहाल भएको होइन, केही बेर होहल्ला भएको थियो। अहिले परिस्थिति सामान्य भइसकेको छ र मतदान प्रक्रिया सञ्चालन भएको छ,’ खड्काले बताएका थिए। विवाद र विरोधका बीच सम्पन्न निर्वाचनबाट रास्वपा सुनसरीले नयाँ जिल्ला नेतृत्व चयन गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds