विराटनगर । मुलुकको बागडोर सम्हालेका जिम्मेवार व्यक्तिहरूले गम्भीर राजनीतिक र प्रशासनिक विषयलाई सामाजिक सञ्जालमा ठट्टाको विषय बनाएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ। काठमाडौँका मेयर बालेन शाहले ‘मलाई पनि राजदूत बन्न मन छ, प्रधानमन्त्रीको नम्बर छ भने दिनुस् न’ भनी फेसबुकमा राखेको स्टाटस र त्यसमा प्रधानमन्त्रीका सल्लाहकार तथा मन्त्रीहरूको हल्का टिप्पणीले राजकाजको मर्यादामाथि प्रश्न उठाएको छ।
राजकाज र कुटनीतिक नियुक्ति जस्तो संवेदनशील विषयलाई सार्वजनिक रूपमा हाँसो र मजाकको विषय बनाएको भन्दै विभिन्न क्षेत्रका व्यक्तित्वहरूले यसलाई ‘अशोभनीय र लज्जास्पद’ भनेका छन्। प्रधानमन्त्रीको सचिवालयका सदस्य र सत्तापक्षका नेताहरूले उक्त स्टाटसमा गरेको व्यङ्ग्यात्मक टिप्पणीले सरकारी ओहोदाको गरिमा घटाएको र जनतामा नकारात्मक सन्देश प्रवाह गरेको टिप्पणीकर्ताहरूको ठहर छ।
वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले यो प्रवृतिप्रति कडा आपत्ति जनाउँदै लेखेका छन्, ‘एक प्रमले यस्ता विषयमा मजाक गर्नु शोभनीय हो र? अनि मन्त्री, सल्लाहकार, नेता पनि संवेदनशील विषयको मजाक गर्न प्रतिस्पर्धा? सुकरात त सत्य बोल्दा मारिएका थिए।’ उनले जिम्मेवार पदमा बसेका व्यक्तिहरूले देखाएको यस्तो शैलीलाई गम्भीरताको अभावका रूपमा अर्थ्याएका छन्।
त्यसैगरी, पत्रकार भानुभक्त आचार्यले यसलाई ‘बालेनवाद’ र मध्यरातको ‘हसिमजाक’ को संज्ञा दिँदै दुई-तिहाइको सरकारको कार्यशैलीमाथि व्यङ्ग्य गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘सरकारमा छु कि सडकमा छु पत्तै छैन। दुई-तिहाइको सरकार हो, सय दिन त कटाउँछन् होला नि।’
राजनीतिक क्षेत्रबाट पनि यसको कडा विरोध भएको छ। नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले ‘हामीले आफ्नो स्तर र औकात अनुसारकै शासक पाउने हो’ भन्दै जनताको चेतनामाथि नै प्रश्न उठाएका छन्। यस्तै, कलाकार नविना सिलवाल (खुइली) ले बालेनको स्टाटसलाई ‘फेसबुकको रोइलो’ भन्दै कार्यकर्तालाई टाइमपास गराउने माध्यम मात्र भएको टिप्पणी गरेकी छिन्।
सामाजिक सञ्जालमा युवा नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ र अनेरास्ववियूका नेता तुलसी घिमिरेलगायतले पनि सरकार र यसका संयन्त्रहरू गम्भीर हुनुपर्नेमा उल्टै ‘डिजिटल ट्रोल’ मा उत्रिएको भन्दै विरोध जनाएका छन्।
पछिल्लो समय सामाजिक सञ्जालमा हुने यस्ता सवाल-जवाफले लोकतान्त्रिक संस्था र सार्वजनिक पदमा बसेका व्यक्तिहरूको जवाफदेहितालाई कमजोर बनाएको विश्लेषण भइरहेको छ। कुटनीतिक मर्यादा र राज्य सञ्चालनका विधिलाई मजाकको विषय बनाउँदा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको छवि धुमिल हुन सक्ने बुद्धिजीवीहरूको चिन्ता छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।