लोड हुँदैछ...

मेनु

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षीको अवरोध, प्रतिनिधिसभा बैठक स्थगित

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षीको अवरोध, प्रतिनिधिसभा बैठक स्थगित

विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले कडा विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ।

सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले आफ्नो दाबी पुष्टि हुने प्रमाण पेस गर्नुपर्ने, अन्यथा उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए। प्रधानमन्त्रीले विषयमा स्पष्ट धारणा नदिएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने उनीहरूको अडान थियो।

विपक्षीको अवरोधपछि सभामुखले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। तर बैठक पुनः सुरु हुँदा पनि विपक्षी दलहरूले विरोध जारी राखेपछि सदनको वातावरण तनावपूर्ण बनेको छ।

यसअघि आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सीमा विवादबारे जवाफ दिने क्रममा “भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा व्यापक बहस सुरु भएको छ।

सोमबार बसेको विपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीन र राष्ट्रिय हितविपरीत रहेको निष्कर्ष निकालेको छ। बैठकपछि नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर माफी माग्नुपर्ने र विवादित अभिव्यक्ति फिर्ता लिनुपर्ने निर्णय भएको जानकारी दिए।

विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइ संसद्को आधिकारिक अभिलेखबाट हटाउनुपर्ने मागसमेत अघि सारेका छन्। उनीहरूले सीमा र राष्ट्रिय अखण्डतासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले भ्रम सिर्जना गरेको दाबी गरेका छन्।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता र प्रतिपक्षबीच विवाद चर्किँदै जाँदा संसद्को नियमित कार्यसूचीसमेत प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।