विराटनगर । विराटनगर सहर र बस्तीहरु मग्न निद्रामा हुन्छन् तर धेरै रातहरु विराटनगर महानगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक शम्भु घिमिरे जागै बस्नुपर्छ । सहर सुतेको बेला धेरै रातहरुमा बिउँझिएर जिम्मेवारी निभाउनु शम्भुको दैनिकै जस्तै बनेको छ । मोबाइलका लागि कुनै समय ‘असमय’ हुँदैन । फोनको घण्टी बज्नेबित्तिकै अर्कोतिरबाट त्रसित आवाज सुनिन्छ, “सर, बचाउनुस् ! ओछ्यानमै सर्प आयो !”
यो शम्भुको विगत तीन वर्षदेखिको नियमित कर्म हो । विराटनगर महानगरपालिकामा उनी यस्तै साहसी कर्मचारी हुन् । जसले पछिल्लो तीन वर्षयता नगरवासीको सुरक्षाका लागि आफ्नो निद्रा र आरामलाई त्यागेका छन् । उनी भन्छन्, “फोन आएपछि म सुत्न सक्दिनँ । कसैको घरमा बच्चा होला, कसैको घरमा वृद्धवृद्धा होलान् भन्ने सम्झेर मेरो निद्रा भाग्छ र म उद्धारमा निस्कन्छु ।”
दुई वर्षमा ७६० सर्पको उद्धार
सर्पलाई मार्न हुँदैन भन्ने सचेतनासँगै मानिसहरुले सर्प समात्ने मान्छेको खोजी गर्न थालेका छन् । त्यससँगै शम्भुमाथि पनि अतिरिक्त मानवीय जिम्मेवारी आइलागेको हो । विराटनगर महानगरपालिकाले चार जना नगर प्रहरीलाई सर्प समात्ने तालिम दिएपछि २०८० साल जेठ १५ गतेदेखि हालसम्म उनले ८९० वटा सर्पको सुरक्षित उद्धार गरिसकेका छन् । यसमध्ये पछिल्ला दुई वर्षमा मात्रै उनले ७६० वटा सर्प समातेका छन् । अझ गत वर्षको वैशाखदेखि हालसम्मको एक वर्षमा मात्रै ५५३ वटा सर्प उद्धार गरेको महानगरले जनाएको छ ।
विराटनगरका १९ वटै वडाका घरभित्र छिरेका सर्प समात्ने उनी एक्ला सारथी हुन् । घिमिरेले वडा नं ४ बाट सबैभन्दा धेरै ११३ वटा सर्प उद्धार गरेका छन् । विराटनगर मात्र होइन, उनले कटहरी, बुढीगंगा, बर्जु, ग्रामथान, जहदा र दुहबीसम्म पुगेर थप १३० वटा सर्पको ज्यानसँगै ती क्षेत्रका मानिसलाई सुरक्षित बनाएका छन् ।
चन्द्र नागसँगकोे खतरनाक मुठभेड
सर्प उद्धारको यात्रा सधैँ सजिलो हुँदैन । शम्भुले धेरै पटक मृत्युलाई नजिकबाट नियाल्ने अवस्था पनि बनेको छ । सबैभन्दा डरलाग्दो घटना पूर्व सांसद सुनिल शर्माको नोबेल अस्पताल परिसरभित्रको निवासमा भएको थियो । त्यहाँ एउटा ‘मनोकल्ड स्पिटिङ कोब्रा’ (चन्द्र नाग) पसेको थियो । निकै खतरनाक मानिने यो सर्प अफ्रिकी मुलुकबाट सामानहरूसँगै आएको हुन सक्ने अनुमान छ । जसले टाढैबाट विष फाल्न सक्छ । उद्धारका क्रममा कोब्राले विष फालेर उनलाई घाइते बनायो । उक्त सर्पको विष छालामा पर्दामात्र पनि निकै घातक हुनेरहेछ । त्यस घटनापछि उहाँ २८ घण्टासम्म अस्पतालमा चिकित्सकको निगरानीमा बस्नुभएको थियो । त्यस घटनापछि पनि उनले थप ६ ओटा सोही प्रजातिको सर्प समातिसकेका छन् ।
ओछ्यानदेखि शौचालयसम्म सर्पको बास
सर्प उद्धार गर्ने क्रममा अनौठा–अनौठा ठाउँबाट सर्प निकालेको अनुभव शम्भुसँग छ । भान्छाका भाँडाकुँडा, पूजा कोठा, ओछ्यान मुनि, दराज, कुलर, वासिङ मेसिन, एसी र फ्रिजका पछाडि लुकेका सर्प समात्नु उनका लागि सामान्य भइसक्यो । उनले शौचालयको प्यान र कमोडभित्रबाट समेत कयौं विषालु सर्प निकालेका छन् । उनले अति विषालु चन्द्र नाग, गोमन, करेत (कमन, ब्यान्डेड, वैरी), किङ कोब्राका बच्चादेखि लिएर अजिङ्गर र धामन जस्ता प्रजातिको उद्धार गरेका छन् ।
विराटनगरमा सर्पदंशको मृत्युदर न्यून
सर्प समात्ने अभियानसँगै विराटनगरमा एउटा ठूलो परिवर्तन आएको छ । त्यो हो सर्पदंशबाट हुने मृत्युदरमा भारी गिरावट । केही वर्ष अघिसम्म विराटनगरमा वार्षिक २० देखि ३० जनाले सर्पदंशका कारण ज्यान गुमाउने गरेका थिए । तर पछिल्ला वर्षहरुमा यो संख्या निकै घटेको छ । चालु वर्षमा त विराटनगरमा एक जनाले पनि सर्पदंशका कारण ज्यान गुमाएको तथ्यांक नआएको घिमिरेले जानकारी दिए । तर, जबदेखि शम्भुले घर–घरमै पुगेर सर्प उद्धार गर्न थाले, मानिसहरूले सर्पलाई मार्न छाडे र सर्पले मानिसलाई टोक्ने क्रम पनि घट्यो । यसअघि विराटनगरमा पूर्व प्रहरी प्रेम विष्टले सर्प समात्ने अभियान चलाएका थिए तर संस्थागत प्रयत्न भने थिएन । अहिले भने महानगरपालिकाले नै यस कार्यमा प्रोत्साहन गरिरहेको छ ।

अहिले शम्भु घिमिरे महानगरका एक्ला दक्ष सर्प उद्धारकर्ताको रुपमा क्रियाशील छन् । यति महत्त्वपूर्ण र जोखिमपूर्ण सेवा दिएर सयौँको ज्यान जोगाउँदा पनि महानगरले भने उनलाई कुनै अतिरिक्त सेवा–सुविधा वा जोखिम भत्ता दिएको छैन । उनले आफ्नो नियमित तलबमै २४ सै घण्टा सेवा दिइरहेका छन् ।
डिभिजन वन कार्यालयले उनलाई एउटा साना सर्प राख्ने खोर दिएको छ । महानगरपालिकाले हेल्मेट र हेडलाइट दिएको छ । त्यसबाहेक अरु कुनै सुविधा दिएको छैन, घिमिरेले थप सुविधा मागेका पनि छैनन् ।
घिमिरेले अहिलेसम्म समातेका सबै सर्पलाई डिभिजन वन कार्यालयले उत्तरी मोरङको चारकोशे झाडीमा लगेर सुरक्षित रूपमा छाड्ने गरेको बताएका छन् । यसले शहर सुरक्षित गर्न सहयोग पुगेको छ तर वन क्षेत्रमा भने सर्पको घनत्व थपिएको छ । यद्यपि सर्पलाई सर्पले नै खाने, चराचुरुङ्गीले पनि आहारा बनाउने भएकोले वन क्षेत्रमा सर्पको संख्या बढ्यो भनेर चिन्ता लिनुपर्ने अवस्था नहुने उनको भनाइ छ ।
सर्प समातेर नागरिकलाई सुरक्षित गर्ने कर्तव्यसँगै घिमिरे सचेतना पनि उतिकै गराउँछन् । “सर्पले टोकेमा धामीझाँक्रीकहाँ गएर समय बर्बाद नगर्नुस् । यो अन्धविश्वासले धेरैको ज्यान लिइसकेको छ । सिधै अस्पताल जानुस् ।” घर वरिपरि सरसफाइ राख्न, झुल लगाएर सुत्न र जुत्ता लगाउँदा चेक गरेर मात्र लगाउन उनी सधैं सुझाव दिन्छन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।