विराटनगर । मानवसेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनको संयुक्त पहलमा सञ्चालन भइरहेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ अन्तर्गत हालसम्म १५९ जना सहयोगापेक्षी सडक मानवको उद्धार गरिएको छ।
गत वैशाख २७ गते पूर्वी नाका मेचीपुलबाट सुरु भएको अभियान अहिले गण्डकी प्रदेश हुँदै सिन्धुपाल्चोक पुगेको छ। मानवसेवा आश्रमकी केन्द्रीय महासचिव सुशीला केसीका अनुसार सातै प्रदेशमा उद्धार टोली परिचालन गरिएको छ भने अभियान जेठ २१ गतेसम्म जारी रहनेछ। यसको समापन जेठ २२ गते काठमाडौँस्थित राष्ट्रिय सभागृहमा गरिने कार्यक्रम रहेको छ।
‘यो झरी वर्षामा कोही पनि नरहून् सडकमा’ भन्ने नारासहित सुरु गरिएको अभियानले सडक आश्रित, असहाय, अशक्त तथा बेसहारा नागरिकको उद्धार गरी सुरक्षित आश्रय उपलब्ध गराउने लक्ष्य लिएको छ। उद्धार गरिएका व्यक्तिहरूलाई नजिकको मानवसेवा आश्रममा राखेर संरक्षण तथा आवश्यक सेवा प्रदान गरिएको छ।
अभियानका लागि आनीछोइङ डोल्मा फाउन्डेसनले आर्थिक सहयोग गरेको छ। फाउन्डेसनकी अध्यक्ष आनीछोइङ डोल्माले मानवसेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउँदै जीवनलाई सार्थक बनाउन सेवामूलक कार्यमा सबैको सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरेकी छन्।
मानवसेवा आश्रमले नेपाललाई सडक आश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवर्द्धन महाअभियान’ सञ्चालन गर्दै आएको छ। विसं २०७३ देखि औपचारिक सेवा सुरु गरेको आश्रमले हाल देशभरका सेवा केन्द्रमार्फत दुई हजारभन्दा बढी अशक्त, बेसहारा तथा अभिभावकविहीन व्यक्तिलाई संरक्षण दिइरहेको छ।
आश्रमले सडकबाट उद्धार गरिएका व्यक्तिको पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिँदै आएको छ। हालसम्म दुई हजार ८०० भन्दा बढी व्यक्तिको परिवारसँग पुनर्मिलन गराइएको आश्रमले जनाएको छ। त्यस्तै, उपचार र पुनर्स्थापनापछि दुई हजार २०० भन्दा बढी व्यक्ति स्वेच्छाले आश्रमबाट बाहिरिएर सामान्य जीवनमा फर्किएका छन्।
मकवानपुरको हेटौँडामा केन्द्रीय कार्यालय रहेको मानवसेवा आश्रमका हाल २१ जिल्लामा ३० सेवा केन्द्र सञ्चालनमा छन्। आश्रमले उद्धार, उपचार, पालनपोषण तथा पुनर्स्थापनामार्फत सडक आश्रित नागरिकलाई सम्मानित जीवनतर्फ फर्काउने अभियानलाई निरन्तरता दिइरहेको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।