लोड हुँदैछ...

मेनु

पिर्के सलामी विवादमा परेकी झा भन्छिन्, ‘मैले मागेर सलामी लिएको हैन’

पिर्के सलामी विवादमा परेकी झा भन्छिन्, ‘मैले मागेर सलामी लिएको हैन’

विराटनगर । प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गरिरहँदा मोरङ क्षेत्र नं. ५ बाट निर्वाचित रास्वपा सांसद आशा झा रंगेलीस्थित इलाका प्रहरी कार्यालयमा सलामी ग्रहण गरिरहेकी थिइन् ।

सामान्यतः प्रहरीले मन्त्रीभन्दा माथिल्लो ओहोदाका व्यक्तिलाई सलामी दिने गरेको छ । तर, सांसद झालाई सलामी दिएको सार्वजनिक भएपछि उनको भिडियो भाइरल बनेको छ ।

सांसद झाले प्रहरी कार्यालयको निरीक्षणका क्रममा रातो कपडा बिछ्याइएको पिर्कामाथि उभिएर प्रहरीबाट सलामी ग्रहण गरेकी थिइन् । यसअघि स्थानीय तहका प्रमुखहरुले सलामी लिएको सार्वजनिक भएपछि त्यसको चौतर्फी आलोचना भएसँगै त्यो क्रम रोकिएको छ । अहिले झाको भिडियो सार्वजनिक भएसँगै जनप्रतिनिधिको सादगी, लोकतान्त्रिक संस्कार र शक्ति प्रदर्शनबारे नयाँ बहस सुरु भएको छ ।

सार्वजनिक भिडियोमा सांसद झा अन्य सामान्य उपस्थित व्यक्तिभन्दा माथि उभिएकी छन् भने प्रहरी टोलीले औपचारिक सलामी दिइरहेको देखिन्छ । जनप्रतिनिधिले आफूलाई नागरिकभन्दा माथिल्लो दर्जाको व्यक्ति ठान्ने प्रवृत्ति नयाँ भनिने दलमा पनि कायमै रहेको भन्दै आलोचना भइरहेको छ ।

कतिपयले ‘पुराना दलका नेताले गरेका कामको आलोचना गर्नेहरू आफैँ उही शैलीमा पुगे’ भन्दै कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा ‘जनताको प्रतिनिधि कि शासक भन्ने प्रश्न पनि उठेको छ ।

सांसद झाले भने आफूले पिर्के सलामी माग नगरेको दाबी गरेकी छन् । ‘म काली मन्दिर दर्शनका क्रममा रंगेली पुगेकी थिएँ । त्यही बेला प्रहरीले आग्रह गरेपछि प्रहरी कार्यालय पुगेकी हुँ’ उनले भनिन्, ‘उहाँहरूले सम्मान दिँदा मैले अपमान गर्न पनि भएन ।’ उनले पाहुनालाई स्वागत गर्ने हाम्रो संस्कार रहेकोले सलामी ग्रहण गरेको बताएकी छन् ।

सलामीसँगै रंगेलीस्थित इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीले सांसद झालाई कार्यालयको निरीक्षण गराएका थिए । त्यस क्रममा प्रहरीले पूर्वाधार अभावका कारण काम गर्न कठिनाइ भइरहेको जानकारी गराएपछि झाले पूर्वाधार निर्माणमा आवश्यक पहल गर्ने आश्वासन दिएकी थिइन् ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले यसलाई सामान्य सम्मानको रूपमा लिनुपर्ने बताए । ‘प्रहरीले सांसदलाई दिएको सम्मानलाई अन्यथा बुझ्न हुँदैन’ उनले भने, ‘सामाजिक सञ्जालमा विषय बढी फैलिएकाले विवाद चर्किएजस्तो देखिएको हो।’

जनप्रतिनिधिलाई ‘विशेष व्यक्ति’ बनाएर प्रस्तुत गर्ने संस्कारले प्रहरीभित्रको सामन्ती सोच अझै कायम रहेको देखिएको टिप्पणी पनि भइरहेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यविधिमा विशिष्ट व्यक्तिलाई सलामी दिने व्यवस्था भए पनि जथाभावी सलामी दिने वा अनावश्यक प्रदर्शन गर्ने प्रवृत्ति बढेको भन्दै आलोचना हुँदै आएको छ । दरबन्दी कम भएका कार्यालयमा समेत जनप्रतिनिधिलाई प्रभावित पार्न प्रहरी टोली खटाउने, होटल, सडक र अनौपचारिक कार्यक्रममा समेत सलामी दिने प्रवृत्तिले सुरक्षा संयन्त्रको व्यावसायिकतामाथि प्रश्न उठाउने गरेको छ ।

सलामी सम्मानको विषय भए पनि त्यसलाई शक्ति प्रदर्शन र चाकडीको माध्यम बनाइनु गलत भएको सुरक्षा अधिकृतहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।