काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ प्रतिनिधिसभाको रेकर्डबाट हटाउन माग गरेको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीले नेपालले पनि भारतको जमिन कब्जा गरेको भन्ने अभिव्यक्ति तथ्यहीन र राष्ट्रिय हितविपरीत रहेको उल्लेख गरिएको छ। नेकपाले उक्त भनाइ तत्काल सच्याउन तथा राष्ट्रिय हितका सवालमा साझा धारणा बनाएर भारतसँग तथ्यका आधारमा कूटनीतिक संवाद अघि बढाउन आग्रह गरेको छ।
विज्ञप्तिमा भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले पनि भारतको भूमि कब्जा गरेको भन्नु गम्भीर विषय भएको उल्लेख छ।
नेकपाले सीमावर्ती क्षेत्रमा देखिने जग्गाको भोगचलनलाई भूमि अतिक्रमणसँग तुलना गर्न नमिल्ने स्पष्ट पारेको छ। सुगौली सन्धि तथा सीमा स्तम्भका आधारमा निर्धारण भएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमारेखाका कारण दुवै देशका नागरिकका केही खेतीयोग्य जमिन सीमा वारपार पर्न सक्ने भए पनि त्यसलाई ‘ल्यान्ड क्रस–होल्डिङ’ को अवस्था मानिने र राज्यस्तरको अतिक्रमण भन्न नमिल्ने पार्टीको तर्क छ।
विज्ञप्तिमा देशको कार्यकारी प्रमुखले संसद्को रोस्ट्रमबाट नेपालले भारतको जमिन कब्जा गरेको अभिव्यक्ति दिनु संविधानको मर्म र राष्ट्रिय स्वाधीनताको भावनाविपरीत भएको उल्लेख गरिएको छ।
पार्टीले नेपाल र भारतबीच सीमा विवाद रहेको स्वीकार गर्दै त्यसको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्ने धारणा राखेको छ। हालसम्म नेपालले भारतको कुनै भूभाग कब्जा नगरेको तथ्यका आधारमा नै नेपालको दाबी कायम रहेको र सोही आधारमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ।
नेकपाले सीमा समस्या समाधानका लागि गठित नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले अझै सार्वजनिक नगरेको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रियता, स्वाधीनता र अखण्डतामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।