विराटनगर । झापाको दमक नगरपालिका–१० स्थित सेतुमाडीमा बोराभित्र शव फेला परेकी युवतीको पहिचान खुलेको छ।
मृतक दमक नगरपालिका–८ बसन्त टोल निवासी नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारी रहेको प्रहरीले जनाएको छ।
शनिबार बिहान करिब ११ बजे रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरी टोलीले बोरा खोलेर हेर्दा युवतीको शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र खड्काका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट युवतीको हत्या गरी अन्यत्रबाट शव ल्याएर पुलमाथिबाट फालिएको आशंका गरिएको छ।
‘शवको अवस्था हेर्दा हत्या भएको जस्तो देखिन्छ। घटनाबारे विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको छ,’ डीएसपी खड्काले बताए।
प्रहरीका अनुसार रमा तिवारी गत जेठ १३ गते राति करिब ९ः३० बजे घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी घर नफर्किएपछि परिवारले खोजी गरिरहेको थियो।
शनिबार फेला परेको शवलाई उनका बुवा नारायण तिवारी र आमा मुना तिवारीले आफ्नी छोरीको रूपमा पहिचान गरेका हुन्। घटनाको प्रकृति गम्भीर रहेकाले प्रहरीले सम्भावित संलग्न व्यक्तिहरूको खोजी तथा घटनाको वास्तविक कारण खुलाउने गरी विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।