लोड हुँदैछ...

मेनु

बालेन प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन : झलनाथ खनाल

बालेन प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपाका नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहले सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा ‘नेपालले समेत भारतको जग्गा मिचेको’ भनी दिएको बयानलाई खनालले गलत, खतरनाक र राष्ट्र विरोधी को संज्ञा दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले यस्तो अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने टिप्पणी गरेका छन् । ‘हिजो प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा बोल्दा नेपालले समेत भारतको जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिन पुगे । यो अत्यन्त गम्भीर, दुःखद, गलत र राष्ट्र विरोधी अभिव्यक्ति हो,’खनालले लेखेका छन् ।

नेता खनालले नेपाली जनता युगौँदेखि विदेशी अतिक्रमणका विरुद्ध लड्दै आएको स्मरण गराउँदै प्रधानमन्त्रीको भनाइले विदेशीको चाकडी गरेको र नेपालीको देशभक्तिपूर्ण भावनामाथि प्रहार गरेको आरोप लगाएका छन् । उनले प्रश्न गरेका छन्, ‘उहाँले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिनुभएको हो ?’

प्रधानमन्त्री शाहले आफ्नो विवादास्पद अभिव्यक्तिका लागि तत्काल माफी माग्नुपर्ने खनालको माग छ । उनले भनेका छन्, ‘यस सम्बन्धमा प्रधानमन्त्रीले माफी नमागेसम्म विरोध र भर्त्सना गर्न म सम्पूर्ण देशभक्त जनता र शक्तिहरूलाई आग्रह गर्दछु ।’ साथै, उनले सो अभिव्यक्तिलाई संसदको रेकर्डबाट तत्काल हटाउन सभामुखसँग समेत माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जग्गा मिचेको दाबी गरेका थिए । उनले भनेका थिए, ‘तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्ला, मैले पनि प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ— भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ । दुवै देशले अध्ययन गरेर, बसेर साथीको रूपमा समाधान गर्ने सोच राखेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।