काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी ९भाजपा० को औपचारिक निमन्त्रणामा आज भारत भ्रमणमा जाँदैछन् । रास्वपाले आइतबार राति प्रेस विज्ञप्ति जारी गर्दै सभापति लामिछाने भाजपा नेता नितिन नवीनको निमन्त्रणामा जेठ १८ देखि २२ गतेसम्म पाँच दिने भ्रमणका लागि नयाँदिल्ली जान लागेको जानकारी दिएको हो ।
पार्टी प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्ति अनुसार सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले भाजपाको शीर्ष नेतृत्वसँग द्विपक्षीय छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग समेत भेटघाट र संवाद गर्नेछन् ।
भ्रमण टोलीमा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य रहेका छन् ।
सत्तारूढ रास्वपाले विज्ञप्ति जारी गर्नु केही समयअघि मात्र भाजपाले पनि लामिछानेको भ्रमणबारे आधिकारिक जानकारी सार्वजनिक गरेको थियो । भाजपाको विज्ञप्तिमा रास्वपा प्रतिनिधिमण्डलले नेता नवीनसहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने उल्लेख छ । यो भ्रमणलाई दुई देशका राजनीतिक दलहरूबीचको सम्बन्ध विस्तारका रूपमा हेरिएको छ । सभापति लामिछाने जेठ २२ गते स्वदेश फर्कने कार्यतालिका छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।