इटहरी । कोशी प्रदेशस्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा आगामी जेठ १७ र १८ गते इटहरीस्थित प्रादेशिक रंगशालामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
शनिबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव विप्लव घोषले छोटो समयको तयारीका बाबजुद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न बोर्ड प्रतिबद्ध रहेको बताए । ‘प्रतियोगिता तयारीका लागि हामीले पर्याप्त समय त पाएनौं, तर उपलब्ध समयको पूर्ण सदुपयोग गर्दै सबै प्रबन्ध मिलाएका छौं,’ घोषले भने ।
प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाका १ हजार ७ सयभन्दा बढी खेलाडी र प्रशिक्षकहरूको सहभागिता रहने बोर्डले जनाएको छ । यसपटक एथलेटिक्स, कबड्डी, भलिबल, कराते, तेक्वान्दो र उसु गरी ६ विधाका खेलहरू समावेश गरिएका छन् ।
प्रतियोगिता सम्पन्न गर्न सामाजिक विकास मन्त्री एवं बोर्डका अध्यक्ष रामप्रसाद महतोको अध्यक्षतामा ४६ सदस्यीय मूल समारोह समिति र ११ वटा उपसमिति गठन गरिएको छ । करिब २ करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको यस प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ ।
झन्डै ८ महिनादेखि पदाधिकारीविहीन रहेको प्रदेश खेलकुद विकास बोर्डले नेतृत्व पाएसँगै यो पहिलो ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू काठमाडौंमा आयोजना हुने १६ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुनेछन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।