लोड हुँदैछ...

मेनु

राजनीतिक खिचातानीले ओझेलमा इटहरीको क्रिकेट मैदान

राजनीतिक खिचातानीले ओझेलमा इटहरीको क्रिकेट मैदान

इटहरी । क्रिकेटको लोकप्रियता तीव्र रूपमा बढिरहेका बेला सुनसरीको इटहरीमा भने लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएको क्रिकेट मैदान संरक्षण अभाव र राजनीतिक खिचातानीको मारमा परेको छ।

पूर्वी नेपालकै सक्रिय क्रिकेट मैदानमध्ये एक मानिने इटहरी–९ स्थित डिभिएम स्कुल छेउको मैदान अहिले जीर्ण बन्दै गएको भन्दै खेलाडी र क्रिकेटप्रेमीहरूले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयदेखि राष्ट्रियस्तरसम्मका प्रतियोगिता सञ्चालन हुँदै आएको यो मैदान सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगितापछि थप चर्चामा आएको थियो। त्यसयता विभिन्न क्षेत्रीय र राष्ट्रिय प्रतियोगिताले मैदानलाई व्यस्त बनाउँदै आएका थिए।

तीन वर्षअघि प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना गर्न लाखौँ रुपैयाँ खर्च गरेर पिचको स्तरोन्नति गरिएको थियो। दीर्घकालीन खेल पूर्वाधारका रूपमा विकास गर्ने लक्ष्यसहित तयार गरिएको संरचना संरक्षण अभावका कारण अहिले संकटमा परेको सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेल बताउँछन्।

यसअघि इटहरी उपमहानगरपालिकाको नेतृत्वले क्रिकेट मैदान मासेर पार्क निर्माण गर्ने योजना अघि बढाएको थियो। ठेक्का प्रक्रिया नै सुरु भएपछि खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरू आन्दोलनमा उत्रिएका थिए। व्यापक विरोधपछि उक्त योजना रोकिएको थियो।

नयाँ नेतृत्व आएपछि मैदान संरक्षण र स्तरोन्नतिको अपेक्षा गरिए पनि त्यसअनुसार काम हुन नसकेको स्थानीय खेलाडी दिवस बिष्टको गुनासो छ। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले समेत मैदानको निरीक्षण गरी संरक्षण र विकासका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराएका थिए।

तर स्थानीय तहमा नेतृत्व गरिरहेका राजनीतिक दलबीचको शक्ति संघर्ष र स्वार्थका कारण मैदानले आवश्यक प्राथमिकता पाउन नसकेको आरोप लाग्दै आएको छ। क्रिकेट मैदानमै फुटबल खेल तथा अन्य गतिविधि सञ्चालन हुँदा मैदानको गुणस्तर झन् खस्किँदै गएको सरोकारवालाहरूको भनाइ छ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा उल्लेखनीय सफलता हासिल गरिरहेका बेला यस्ता स्थानीय मैदानहरू भविष्यका खेलाडी उत्पादन गर्ने आधारभूमि मानिन्छन्। तर इटहरीको डिभिएम क्रिकेट मैदान भने संरक्षणको अभाव र राजनीतिक बेवास्ताका कारण अस्तित्व जोगाउने संघर्षमा रहेको देखिन्छ। लाखौँ खर्चेर निर्माण गरिएको यो खेल पूर्वाधार जोगाउने कि जीर्ण बन्न दिने भन्ने प्रश्न अहिले इटहरी उपमहानगरपालिकाको नेतृत्वसामु उभिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।