दमक। झापाको दमकमा बोराभित्र हालेर फालिएको अवस्थामा एक महिलाको शंकास्पद शव फेला परेको छ।
दमक नगरपालिका–१० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि बगिरहेको पानीमा शव भेटिएपछि प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान थालेको छ।
स्थानीयवासीले शुक्रबार बिहान करिब ११ बजे खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। फेला परेको शव रातो भेस्ट र जिन्सको पाइन्ट लगाएकी करिब ३० देखि ३२ वर्ष उमेरकी महिलाको रहेको अनुमान गरिएको छ।
प्रहरीका अनुसार शव २–३ दिनअघि नै पानीमा फालिएको जस्तो देखिन्छ। शवलाई सेतो प्लास्टिकको बोरामा पोको पारेर खोलामा फालिएको अवस्थामा भेटिएकाले घटना अत्यन्तै शंकास्पद रहेको र हत्या गरेर शव व्यवस्थापन गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा विशेष अनुसन्धान टोली खटिएको छ। टोलीले घटनास्थलको मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरी घटनाबारे सूक्ष्म अनुसन्धान सुरु गरेको जनाएको छ।
मृतक महिलाको हालसम्म पहिचान खुल्न सकेको छैन। प्रहरीले उनको बायाँ हातमा ट्याटु रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार मृतकको सनाखत गर्ने प्रयास भइरहेको छ।
प्रहरीले मृतक महिलालाई चिन्न सक्ने अभिभावक, आफन्त, साथीभाइ वा छिमेकीलाई नजिकको प्रहरी कार्यालय वा प्रहरीका सम्पर्क नम्बर १००, ९८५२६७०६०९, ९८५२६९००३१ र ९८५२६९०२३२ मा जानकारी गराउन अनुरोध गरेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।