इटहरी । लागूऔषध ब्राउन सुगरसहित सुनसरीको इटहरीका तीन जना युवा पक्राउ परेका छन् ।
ईनरुवा नगरपालिका–४ बसचौकस्थित अस्थायी प्रहरी पोस्ट बसपार्क ईनरुवा र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बिहीबार राति पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका इटहरी उपमहानगरपालिका–२ का २६ वर्षीय संजोग राई, सोही स्थानका २८ वर्षीय जितबहादुर राई तथा इटहरी–५ की १८ वर्षीया पुष्पा प्रधानलाई शंकाको आधारमा चेकजाँच गरिएको थियो । चेकजाँचका क्रममा पुष्पा प्रधानले हातमा बोकेको प्लास्टिकको पोका भित्र ६ दशमलव ९७ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।